भूकम्प प्रभावित जिल्लामा वितरण गरिएको निःशुल्क इन्टरनेटमा आजदेखि शुल्क लाग्ने

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्लामा निःशुल्क रुपमा वितरण गर्दै आएको इन्टरनेट प्रयोगमा अब शुल्क लाग्ने भएको छ ।

दुई वर्षका लागि प्राधिकरणले इन्टरनेट सेवा नपुगेका स्थानीय निकायमा इन्टरनेट पुर्‍याउने योजनासाथ ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरेको थियो ।

निःशुल्क इन्टरनेटको अवधि २०७६ साल चैतसम्म भए तापनि कोरोना भाइरस सङ्क्रमणका कारण सेवा प्रवाहलाई निरन्तरता दिइएकामा मङ्गलबारदेखि उक्त सेवा सकिएको जनाइएको छ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार कोरोना महामारीका बीचमा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रवाह गर्न सेवा प्रदायकलाई थप समय दिइएकामा उक्त समय मङ्गलबारदेखि सकिएको छ ।

उहाँका अनुसार अब ब्रोडब्यान्ड इन्टरनेटको सेवाका लागि सम्बन्धित निकायले प्राधिकरणबाट स्वीकृत गरेको महसुल दरमा मात्र सेवा प्रदायकसँग सम्झौता गरी इन्टरनेट सेवाको उपभोग गर्न सक्नेछन् ।

प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्लाहरु नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, ओखलढुंङ्गा र सिन्धुलीका इन्टरनेट सेवा नपुगेका स्थानीय निकायमा इन्टरनेट पुर्‍याउने विभिन्न सेवा प्रदायकसँग सम्झौता गरेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.