सरकारले कस–कसको गर्छ निःशुल्क उपचार ?

अग्रभागमा खटिने राष्ट्रसेवक र असहाय बाहेकले कोरोना भाइरसको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने

काठमाडौं– सरकारले असहाय नागरिक र अग्रभागमा खटिने राष्ट्रसेवकलाई कोरोनाको लक्षण देखिए परीक्षण र उपचार निःशुल्क गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विपन्न, अशक्त, असहाय, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, र अग्रपंतिमा खटिने राष्ट्रसेवकहरुमा लक्षण भएमा परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । तर उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिने व्यवस्था गरिएको छ ।

नयाँ व्यवस्था अनुसार असहाय नागरिक र संक्रमणको जोखिममा रही अग्रभागमा खटिने राष्ट्रसेवक कर्मचारी बाहेक अन्यले कोरोना भाइरसको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने छ । यसैगरी सबै निजी र सहकारी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरुले कम्तीमा ५० प्रतिशत शय्या र आईसीयू लगायतका पूर्वाधारहरु कोभिड १९ को उपचारका लागि छुट्याउनुपर्ने निर्णय सरकारले गरेको छ ।

यस्तै कोरोनाको उपचारमा प्रयोग हुने रेन्डिसिभिर नामक औषधि सूचिकृत अस्पतालका फार्मेसीहरुबाट बिक्री वितरण भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यसैबीच, नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ७ सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ७५ जनामा परीक्षण गरिएकोमा २ हजार ९ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौ उपत्यकामा १ हजार ६ सय ९८ जना रहेकोमा काठमाडौ जिल्लामा १४ सय ६९ ललितपुरमा १३० र भक्तपुरमा ९९ जना थपिएका छन्

हालसम्म १ लाख ३२ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो समयमा २ हजार ३ सय २६ जना निको भएसँगै ९२ हजार १ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म क्वारेन्टिनमा ४ हजार ८ सय ३१ जना रहेका छन् । आइसोलेसनमा ३९ हजार ३ सय ४१ जना रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.