पेट्रोलमा डिजेल मिसाएर बेच्ने पम्प सिल

कार्तिक-सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा रहेको शंकर आयल स्टोर्स सिल गरिएको छ ।

पेट्रोलमा मिसावट भएको स्थानीयको उजुरी परेपछि आज जिल्ला प्रशासन कार्यालय सुर्खेतले अर्को आदेश नहुन्जेलसम्मका लागि शंकर आयल स्टोर्स सिल गरेको हो ।

पम्प सञ्चालकले पेट्रोलमा डिजेल मिसावट गरेको इन्धन मोटरसाइकलमा राख्दा इन्जनमा खराबी आएपछि उपभोक्ताले कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयलाई गुहारेका थिए।

यता जिल्ला प्रशासन कार्यालयबाट प्रशासकीय अधिकृत श्रीसम्शेर रानाको नेतृत्वमा आयल निगमका प्रतिनिधि, राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिसमेतको संलग्नतामा गएको अनुगमन टोलीले पेट्रोलको नमूना संकलन गरेको थियो ।

अनुगमनमा पुग्नु भएका अधिकृत रानाले मिसावटयुक्त पेट्रोलको नमूना संकलन गरी सिलबन्दी गरेर नेपाल आयल निगमको काठमाडौं स्थित ल्यावमा पठाउन निगमकै सुर्खेत कार्यालयलाई जिम्मा लगाइएको बताउनु भयो ।

ल्यावको रिपोर्ट आएपछि कानून अनुसार पेट्रोलपम्म सञ्चालकलाई कार्वाही हुने उहाँको भनाइ थियो ।

उता शंकर आयल स्टोर्सका सञ्चालक डम्मर महताराले डिजल ट्याङ्करबाट तेल खन्याउँदा डिजेलको ट्याङ्कीमा राख्नु पर्नेमा भुलबस पेट्रोलको ट्याङ्कीमा मिसिन पुगेको बताउनु भएको छ ।

उहाँले  मिसावटयुक्त पेट्रोल नबेच्न आफ्ना कर्मचारीलाई निर्देशन गरेको भएपनि एक जना नयाँ कर्मचारीले थाहा नपाएर केही ग्राहकलाई पेट्रोल बेचेको स्वीकार गर्नुभयो ।

भुलबस मिसावट भएको स्वीकार गर्दै उहाँले मिसावटयुक्त पेट्रोल कर्मचारीले बेचेको थाहा पाउने वित्तिकै आफुले पेट्रोलपम्प बन्द गरेको बताउनु भयो ।

नेपाल आयल निगम सुर्खेत प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख शिवराज भण्डारीले कुनैपनि इन्धन विक्रेताले इन्धनमा मिसावट गरेको ल्याव रिपोर्ट प्रमाणित भएमा पहिलो पटकको हकमा एक लाख रुपैयाँ जरिवानासहित एक महिनासम्म पम्प बन्द गर्ने नियम रहेको जानकारी दिनु भयो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.