मेडिकल काउन्सिल परीक्षामा ६४ प्रतिशत उत्तीर्ण

काठमाडौं– चिकित्सकीय पेसामा प्रवेश गर्नका लागि चिकित्सा विषय पढेर मात्र हुँदैन । पढेपछि नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा उत्तीर्ण भएछि मात्र बिरामीको उपचार गर्न पाइन्छ । कार्तिक १ गते काउन्सिलले लिएको यस्तै परीक्षामा मेडिकल तर्फ करिब ६४ प्रतिशत विद्यार्थी मात्र उत्तिर्ण भएका छन्

लाइसेन्सिङ अथवा दर्ता प्रमाणपत्र परीक्षामा मेडिकल तर्फ १ हजार ३ सय ९० जना सहभागी भएकोमा ४ सय ९५ जना अनुत्तीर्ण भएका छन् । यो करिब ६४ प्रतिशत हुन आउँछ ।

यसैगरि डेन्टलतर्फ भने ४ सय ८१ जना सहभागी भएकोमा ८३ प्रतिशत अर्थात् ४ सय १ जनाले यो परीक्षा उत्तीर्ण गरेका छन् ।

विगतका वर्षहरुमा ४५ अथवा ५० प्रतिशत अनुत्तीर्ण हुने गरेकोमा यस पटकको उत्तीर्ण प्रतिशत राम्रो रहेको भनाई नेपाल मेडिकल एसोसिएसनको छ ।

नेपालमा सञ्चालित मेडिकल कलेजहरुमा भौतिक पूर्वाधार तथा पढाउने शिक्षकको अभाव रहेको र बिरामीको कमी भएको अवस्थामा त्यहाँको पढाईको गुणस्तरमाथि प्रश्न उठ्दै आएको छ । यस अवस्थामा गत वर्ष गठन भएको चिकित्सा शिक्षा आयोगले प्रभावकारी काम गर्न सकेमा विगतमा देखिएका बेथिति अन्त्य हुने विश्वास पनि एसोसिएसनले गरेको छ ।

काउन्सिलले स्नातक तथा विशेषज्ञ चिकित्सकलाई आफ्नो पेसा सुरु गर्नुअघि लाइसेन्सिङ परीक्षा सञ्चालन गर्ने गरेको छ । नेपालमा स्नातक तह अन्तर्गत करिब २६ हजार ४ सय र विशेषज्ञतर्फ करिब ७ हजार ८ सय जना चिकित्सकहरुले काउन्सिलबाट दर्ता प्रमाणपत्र लिएका छन् ।

हाल नेपालमा विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिएका तथा स्वायत्त संस्था गरी २१ वटा मेडिकल तथा ३ वटा डेन्टल कलेजहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.