गोदावरीले निःशुल्क स्वाब परीक्षण गर्ने

 ललितपुर– गोदावरी नगरपालिकाले निःशुल्क स्वाब परीक्षण गर्ने भएको छ ।

गोदावरीले बुधबार एक सूचना जारी गर्दै कोरोना पोजेटिभ देखिएका नगरवासीको कन्ट्याक्ट टे«सिङ गर्दा सम्पर्कमा आएका व्यक्तिलगायत परिवारको निःशुल्क पिसीआर परीक्षण गर्ने जनाएको छ ।

कोभिडले नगरवासीमा पर्ने जोखिम न्यूनीकरणका लागि सो व्यवस्था मिलाएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले आजबाट कोरोनाको लक्षण देखिएका नगरवासीको हितमा नगरपालिकाको विपद् व्यवस्थापन कोषमा रहेको रकम खर्च गर्ने भएका छौँ ।वडा नं ६ टीकाभैरवस्थित आनन्दवन अस्पतालमा लगेर यी व्यक्तिको निःशुल्क स्वाब परीक्षण गराउने व्यवस्था गरिसक्यौँ।”

यसैगरी गोदावरीले वडा नं ४ बडिखेलस्थित कोरियन होटलमा महिनाको रु दुई लाख ५० हजार तिरेर कोरोना सङ्क्रमितलाई राख्ने व्यवस्था गरिसकेको छ ।

नगरपालिकाले पहिलो चरणमा तीन महिनाका लागि भदौदेखि यही कात्तिकसम्म सो होटल भाडामा लिएको थियो । अहिले पनि त्यहाँ छ जना कोरोना सङ्क्रमितलाई राखेर सेवा दिइरहेको नगरप्रमुख महर्जनले जानकारी गराउनुभयो ।

उहाँका अनुसार यसअघि होटल आइसोलेसनमा राखिएको १७ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किसकेको छ । घरमा आइसोलेसन बस्न उपयुक्त वातावरण तथा कोठालगायत शौचालय नभएका कोरोना सङ्क्रमितलाई नगरपालिकाले होटल आइसोलेसनमा राखेर उपचार गर्दै आएको छ ।

यसका साथै नगरपालिकाले प्रत्येक सङ्क्रमितलाई दैनिक रु एक हजारको खाना र खाजाको व्यवस्था समेत गर्दै आएको नगरप्रमुख महर्जनको भनाइ छ । “यस होटलमा ५० शय्याको सुविधा छ”, उहाँले भन्नुभयो, “नगरपालिकाभित्रका कोरोना सङ्क्रमितलाई राख्न यो होटल भाडामा लिएर सहयोग गरिरहेका छौँ ।”

गोदावरीमा मङ्गलबारसम्म कोरोना सङ्क्रमित सङ्ख्या ४६८ पुगेको छ । तीमध्ये उपचार पछि निको भएर घर फर्किनेको सङ्ख्या २२७ जना रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या भने २३४ रहेका छन् ।

अहिलेसम्म कोरोना सङक्रमणबाट सात जनाको मृत्यु भइसकेको नगरपालिकाले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.