दुधे बालकसहित स-परिवार भाइरस संक्रमित हुँदा आइसोलेशनमा परेको हाम्रो दशैँ

मध्य वैशाखको महिना, देशब्यापी लकडाउन, नेपालमा दैनिकजसो छिटफुट कोरोनाको विरामीहरु देखिन देखिँदै थिए। त्यति नै बेला मेरा छिमेकीहरु घर बाहिर निसक्न निकै डराउँथे । तर मेरो पेशाले भने लकडाउन भएपनि मलाई घरमै रहने छुट दिएको थिएन् ।

त्यसैले होला म कार्यालय आउने जाने गरेको देखेर उनीहरुले मलाई टोलमा कोरोना ल्याउने भनेकै स्वास्थ्यकर्मी वा सञ्चारकर्मी हो भनेर जिस्काउने गर्दथे ।

यतिसम्म कि नगरपालिकाको फोहर संकलनको गाडी आउँदा समेत मेरो नजिक कोहि नै पर्दैनथे ।

उनीहरुलाई लाग्थ्यो होला मैले बाहिरबाट कोरोना ल्याएको हुनसक्छु । छिमेकीहरुको आशंकामा बल पुग्ने गरी मेरो घरमा म सञ्चारकर्मीको रुपमा थिएँ भने मेरो दाइ -भाउजू स्वास्थ्यकर्मी हुनुहुन्छ ।

अति आवश्यक सेवाको पेशागत जिम्मेवारीका कारण पनि लकडाउनको अवधीमा पनि हामीहरुलाई घरमा बस्ने छुट रहेन ।

दैनिक जसो कार्यालय जाने आउने भइरहन्थ्यो। मेरो काम कार्यालय भित्र मात्र सिमित नरहेर समाचार संकलनको क्रममा फिल्डमा समेत जानु पर्ने हुन्थ्यो । पत्रकार मान्छे धेरैको सम्मर्कमा रहनुपर्ने भएका कारण मलाई घरमा अलि बढी नै जोगिन सचेत गराइरहन्थे ।

म सकेसम्मको सावधानी अपनाउँथे । समाचार संकलनको क्रममा फिल्डमा जाँदा घरमा रहेका बृद्धा आमा र सानो बाबुलाई सम्झन्थेँ ।

त्यसैले पनि मास्क सेनिटाइजर र सामाजिक दुरीको सुत्रलाई मैले पूर्ण पालना गरिरहेकै थिएँ । अफिसबाट बेलुका आएर नुहाउने त गर्थेँ तर बच्चासँग खेल्ने र आमाको नजिक हुने आँट कहिल्यै गरिन ।

आफिसबाट घर फर्कँदा करिव १० बजिसकेको हुन्थ्यो । त्यसैले प्राय: सवै सुतिसकेका हुन्थे । म भने खाना खाएर अलग्गै रुममा गएर सुत्ने गर्थेँ ।

अनि अर्को दिनको दिनचर्या बिहान मास्क लगाएर नै शुरु हुन्थ्यो । भौतिक दुरी कायम गर्दै बच्चा र आमाको नजिक बल्ल जान्थेँ । धेरे बेर नबसी आमा र बच्चालाई सँगै राखेर म आफ्नै कोठामा लाग्थेँ ।

कामको निरन्तरतासँगै यसरी नै कोरोनाबाट बच्ने र परिवारलाई बचाउने प्रयास गरिरहेको थिएँ ।

यही निरन्तरताका बीच राजधानीमा महामारीको ग्राफ बढ्दै जाँदा पनि कत्ति नआत्तिकन हामी सुरक्षित रहँदै आएका थियौं । नेपालमा कोभिड-१९ देखिएसँगै स्वास्थ्य सेवा विभाग टेकुमा कार्यरत दाइको व्यस्तता निकै बढेको थियो ।

निरन्तरको फोन र मिटिङ्ग भइरहने र उहाँ कति बेला राजधानी बाहिर जानुपर्ने टुङ्गो नै हुँदैनथ्यो । विभिन्न् जिल्लामा रहेका अस्पतालको अनुगमन निरिक्षणको व्यवस्थापनको कामको शिलशिलामा उहाँ पटक पटक काठमाडौं बाहिर जाने आउने गरिरहनुहुन्थ्यो।

दुई हप्ताअघि मात्र पछिल्लो पटक पोखरा र बागलुङ्ग जिल्लामा जानु भएको थियो । सँधैजसो जोगिएर आउने दाइ यसपटक भने कोरोनसँग जोगिन सक्नुभएनछ। आज ६ महिना पछि मेरा छिमेकीले भने जस्तै टोल छिमेका अन्य कसैलाई कोरना संक्रमण नहुँदै मेरो घरमा कोरोनाले पहिलो आक्रमण गर्‍यो।

पोखराबाट आएको अर्को दिन अफिस गएर आएपछि बेलुका उहाँलाई ज्वरो आयो । जिउ दुख्यो । कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिन थाले ।

घरमा १ बर्षको दुधे बालक ७४ बर्षीया बृद्धा आमा भएकाले दाइलाई ज्वरो आउँने वित्तिकै हामीले उहाँलाईआइशोलेट गर्‍यौँ । अर्को दिन टेस्ट गर्न पठायौं।

त्यसको दुई दिनपछि रिजल्टमा उहाँलाई कोरोना पोजेटिभ देखियो । खासै गम्भीर लक्षण नदेखिएकाले उहाँलाई नआत्तिन भन्यौँ । उहाँ आफै पनि स्वस्थ्यकर्मी भएकाले पनि हामीले थप सिकाइरहनु पर्ने थिएन ।

सुगरको विरामी भएकाले नियमित औषधी सेवन गरिरहनु भएकाले हामीलाई डर लागेपनि उहाँले आत्माबल बलियो बनाएर मलाई केही हुँदैन । यो एकपटक सवैलाई हुने नै हो । डराउनु पर्दैन भनेर हामीलाई उल्टै सम्झाउनुहुन्थ्यो ।

दाइलाई पोजेटिभ देखिएको साँझ मेरो छोरोलाई ज्वरो आयो ।अब फेरि मन निकै आत्तियो ।

मैले श्रीमतीलाई सोधेँ- दाइले बोक्नु भएको त थिएन  नी बाबुलाई ? उनले भनिन्- छैन ।

दाइलाई अस्ति वेलुकामात्र ज्वरो आएको हो । बाबुको जन्म दिन परेकाले त्यसै दिन बिहान भने टिका लगाइदिनु भएको थियो ।

कोभिड संक्रमणको जोखिम कायम रहेकाले बाबुको पहिलो जन्म दिन भएपनि नजिकै रहेका दिदी भान्जा भान्जीहरु कोही कसैलाई नबोलाउने  र जन्मदिन नमनाउने सोचे बनाएका थियौं।

त्यसैले जन्म दिनको दिन आमाले बिहान पुजाआजा गरेपछि सवैले बच्चालाई टिका लगाइदियौँ । दाइले पनि टिका लागाइदिनु भएको थियो । त्यति बेला उहाँलाई लक्षण त देखिएको थिएन दाइबाट सर्‍यो कि?

फेरि मन मनै सोचेँ र श्रीमतीलाई भनेँ सर्‍यो कि क्या हो ? “पोखराबाट आएपछि दाइले बच्चालाई उचाल्नु भएको छैन। आमाको नजिक र उहाँको कोठमा पनि जानुभएको छैन । ज्वरो आएपछि त आइसोलेशनमा हुनुहुन्छ । कोरोना होइन होला ।” मेरो आत्तिएको मनलाई समाल्ने प्रयास गरिन- श्रीमतीले। “भर्खर एक वर्षको भयो, दाँत निस्कने बेला भएर होला”- उनले भनिन् । बच्चाको पहिलो दाँत निस्कँदा ज्वरो आउँछ भन्छन् त्यही भएको होला- उनले थपिन् ।

म पटक पटक बच्चाको निधार शरिर छाम्छु, पुरै तातो छ । मलाई भने डर लाग्न लाग्यो । दाइ दुई तीन दिनदेखि आइसोलेशनमा भएकाले केही समस्या छ कि भनेर बुझ्न उहाँ बसेको कोठाको ढोका वाहिरबाटै कुरा गर्न लागेँ । कुनै समस्या त छैन ? भनेर सोधेँ ।

“अब सुत । मलाई सवै ठिक छ”- दाइको जवाफ थियो । तर पनि अक्सोमिटर र थर्मोमिटर दिएर नाप्न लगाएर हरेँ । सबै नर्मल देखेपछि म सुत्न लागेँ ।

यता राति पनि बच्चालाई ज्वारो आइरह्यो । हैन ! एक पटक ज्वरो नाप्न पर्‍यो भनेर ज्वरो नाप्दा १०१.८ डिग्री फरेनहाइट ज्वरो देखायो ।

अब चाहिँ औषधि खुवाउनुपर्छ भनेर एक बिर्को ‘निको’ खुवाइदिएँ । ज्वरो विस्तारै कम भयो । तर अर्को दिन बिहान फेरि पनि ज्वरो नाप्दा उस्तै रहेछ । मलाई झन झन डर लाग्न थाल्यो ।

चिनजानमा रहेका कान्ति बाल आस्पतालका डाक्टर कृष्णप्रसाद पौडेललाई सम्पर्क गरेर सोधेँ ।

मेरो १ बर्षको छोरोलाई ज्वरो आइरहेको छ डाक्टर  साव ! के गरौ ? यता घरमा मेरो दाइलाई कोरोना पोजेटिभ पुष्टि भएको छ भनेर सवै यथार्थ बताएँ । उहाँले ज्वारो आएर आत्तिनु पर्दैन, निको खुवाइदिनुस् । दुई तीन दिनसम्म रोकिएन, बच्चा लोसे भयो, खान मन गरेन र कोखा हान्न थाल्यो भने घरमा नराख्नू, ल्याइहाल्नु, भन्नुभयो ।

डाक्टरको शिफारिस अनुसार नै बाबुलाई चार चार घण्टामा निको दिएँ । केहीवेर ज्वरो रोकियो । अनि २/३ घण्टापछि पुन: ज्वरो आउने गर्‍यो।

यसरी नै त्यो दिन बितेको थाहा भएन ।

तर बेलुकीपख भने ‌बाबुलाई साह्रै चाप्दै गएछ । खान पनि मन गरेन । झगडा गरिरह्यो । नरोकिकन रुने गर्‍यो । औषधी खुवाए पनि ज्वरो नरोकिने, नाकबाट पानी जस्तो पातलो सिँगान बगिरहेको, बच्चा नरुँदा पनि आँखाबाट आँसु झरिरहेको थियो ।

रातिको बेला भएपनि बच्चाको छटपटी र रुवाइले अस्पताल लगौँ जस्तो लाग्यो । रातको साँढे एघार भइसकेको थियो ।

घरको काम पर्दा सँधै आइरहने ट्याक्सीवाला दाइलाई फोन गरेँ । फोन उठ्यो ।तपाइँ सुतेको हो ? भनेर सोधे सोधेँ । । सुतेको छैन, आईपीएल हेरेर बसेको छु । के पर्‍यो र सर ? उनले भने ।

मैले तपाईं आउनु पर्‍यो । बच्चालाई लिएर अस्पताल जानु पर्‍यो भनेँ । फेरि उनले के भएको बच्चालाई ? भनेर सोधे। म एकछिन अकमक परेँ । ज्वरो भनौँ भने लिन आउँदैन कि भनेर झुट बौलौँ जस्तो लाग्यो । तर मनले त्यसो गर्न मानेन, ज्वरो आइरहेको छ। केहि दुखेर हो कि रोएको रोएै, छ तपाईं आउनुस् न भनेँ । उनले हुन्छ तयार हुनुस् । म आउँछु भने । एकै छिनमा ट्याक्सी लिएर मेरो घरमा आए ।

रातको १२ बजिसकेको थियो, ट्याक्सीमा हामी पाटन आस्पताल पुग्दा। गेटमै रोकेर सुरक्षाकर्मीले हामीलाई सोधे- बच्चालाई के भएको ? ज्वरो छ , अनि रोइरहेको छ, इमरजेन्सीमा देखाउँ भनेर ल्याएको भनेँ । इमरजेन्सीमा होइन तपाइँ ज्वरो क्लिनिक अर्थात कोरोनाको उपचार हुने कक्षमा जानुस् भनेर उनले सुझाए। ज्वरो आएको भनेपछि इमरजेन्सीमा नपठाउने नियम रहेछ ।

ज्वरो रुघाखोकी क्लिनिकमा पुगेपछि डाक्टरसँग घरमा दाइलाई कोरोना पोजेटिभज देखिएको र आइसोलेशनमा रहेको विषय पनि बतायौँ । डाक्टरले बच्चालाई लक्षण सवै मिलेको छ । घरमा पोजेटिभ एक्स्पोजर पनि रहेछ- भनेर विस्तारै कोरोनाको संकेत गरे ।

कोभिड वार्डमै भर्ना गरौँ भने । तर मैले ३ दिन अघि बच्चाले खोप पनि लगाएको थियो । दाँत आउने बेला भएको छ त्यसको असर पनि हो कि भनेर थप जानकारी गराएँ । डाक्टरले पीसीआर टेष्ट गरौँ भने ।

बच्चाको मास्क छैन । कोभिडका विरामीहरु भएको हल भित्र कसरी बच्चालाई छिराउनु ! मन भारी भयो ।

डाक्टरसाब ! मास्क लगाएको छैन, बाबुलाई भित्र नछिराउँ कि ? भनेर मैले मानिन । बाहिरै यतै छेउ कतै गल्लीमै आएर स्वाब लिन र चेक गरदिन मैँले अनुरोध गरेँ ।

त्यसो त हामी पाटन अस्पताल पुग्नुभन्दा पहिले नै भाउजुले हामीहरुले बच्चा लिएर आएको आफ्नो साथीलाई फोन गरेर बच्चाको डाक्टरलाई नि देखाउन र सहयोग गर्न उहाँको साथीलाई आग्रह गरिसक्नुभएको रहेछ ।

उहाँ पनि सोही अस्पतालमा नर्सको रुपमा कार्यरत हुनाले उहाँको साथीको सहयोगमा बच्चाको डाक्टरले पनि बच्चालाई आएर हेरे ।

आत्तिनु पर्दैन भने । त्यस पछि कोभिड वार्डको डाक्टरले पनि हाम्रो अनुरोधलाई मान्दै बाहिरै आएर बच्चालाई ज्वरो नापे ।

१००.४ ज्वरो देखायो । अन्य चेकजाँच गर्ने र स्वाब लिने काम गरे  । केही औषधि लेख्दिए र हामीलाई नआत्तिन सुझाउसहित केहि औषधि दिए । टेस्ट के आउछ हेरौं-भने ।

तर ज्वरो तीन दिनसम्म रोकिएन र कोखा हान्न लाग्यो भने घर नराख्नु, ल्याइहाल्नुस्- भने । त्यसपछि हामी अस्पतालबाट घर फर्कियौँ । रातको साढे एक बजेतिर डक्टरले भने अनुसारका औषधि खुवाएर बच्चालाई सुतायौँ । डक्टरले अर्को दिनदेखि नियमित लेखिदिएका औषधि खुवाउँदै गयौँ ।

ज्वरो क्रमश: घटदै गयो । रुघाखोकी पनि कम हुँदै गयो । बच्चाको स्वास्थ्यमा तीन चार दिनमा उल्लेख्य सुधार आयो ।

थप जटिलताहरु आएनन तर हस्पिटलले ५ दिनपछि रिपोर्ट पठायो । अन्तत: जे नहोस भनेको त्यही भयो ।

बच्चाको पीसीआर रिपोर्ट पोजेटिभ आयो । सधैँ आमा र हजुरआमाको काखमै रहने घर बाहिर कहिँ ननिस्कने निर्दोष बालकले पनि अन्तत:कोरोनासँग लड्नु पर्‍यो । कोरोनाले दिएको पिडा भोग्नु पर्‍यो ।

बच्चालाई केहि सुधारका लक्षणहरु देखिँदै थिए ।यही बीचमा श्रीमतीलाई ज्वरो आयो र शरिर दुखेको छ भनिन् । यता, आमा र भाउजू पनि टाउको फुट्ला जस्तो गरी दुखेको छ भन्न थाल्नुभयो । अनि मैले सोचेँ- सवैको कोरोना टेष्ट गर्नु पर्‍यो- एकपटक ।

सवैको कोरोना टेष्ट गरौँ भनेर घरमै स्वाब लिन बोलायौँ । मेरो वाहेक घरमा सवैलाई कोरोना पोजेटिभ देखियो । छोरोको स्वास्थ्यमा सुधार आएर केही शान्त भएको मन आमा, भाउजू र श्रीमतीमा देखिएको पोजेटिभ नतिजाले थप तनावग्रस्त बन्यो।

घरमा म बाहेक सबै संक्रमित । आमाले रिपोर्ट के आयो ? भन्नु भयो । एक मनले झुट वोलौँ जस्तो भयो । मलाई सवै भन्दा गाह्रो लाग्ने झुट वोल्नु भएकाले आमालाई सान्त्वना दिने किसिमले सम्झाएँ ।

अरुलाई भर्खर सुरु भएको देखाएको छ, तपाईंको चाहिँ भाइरस सरेर निको भइसकेको रिपोर्ट आएको छ । श्रीमती  र भाउजूको सिटी भ्यालु १८ -२० देखाउँदा आमाको सिटी भ्यालु २७ देखाएको थियो ।

त्यही भएर पनि मेरो दिमागमा आमालाई सम्झाउने यो आइडिया आएको हुनु पर्छ । कम्तिमा झुट बोल्न परेन । आमा खुशी हुनुभयो । अस्ति बावुलाई अस्पताल लगेपछि मलाई निद्रा नै परेको छैन । ज्वरो नि छ । जिउ नि दुखेको थियो । सिटामोल खाएकी थिएँ । अहिले सानो बच्चालाई नि कम भयो मलाई नि निको भयो -भन्नुभयो । उहाँलाई भाइरसले दिएको दुखाइभन्दा बढी नाति विरामी भएकोमा  पीडा रहेछ। त्यसैले होला बावुलाई नि ठिक भयो मलाई नि ठिक छ भन्नु भएको ।

सायद त्यसैले होला भाइरसले आफुलाई गलाइसक्दा नि केही नभएजस्तो गरी आँफुलाई सम्हाल्दै आउनु भएको । मलाई भने बाबुलाई निको हुँदै गएकामा बच्चाको चिन्ता केही घटेको थियो । अव चिन्ता थपियो आमाको । उहाँले मलाई ठिक छ भने पनि म उहाँकै कोठामा बसेँ ।

बेला बेला अक्सोमिटरले अक्सिजन लेभल नापी रहेँ । थर्मोमिटरले बेला बेलामा ज्वरो पनि चेक गरिरहेँ । सवै नर्मल थियो । हल्का खोकी थियो । बेला बेलामा तातो पानि खानुस् भन्थेँ । उहाँले मन नगर्दा नि उठाएर तातो पानी खुवाउँथेँ। मलाई ठिक छ जा बच्चालाई हेर्, यहाँ कुर्नुपर्दैन । उनिहरुलाई कस्तो छ ? मलाई गाह्रो भएको छैन -भन्नु हुन्थ्यो ।

तर मलाई डर लागिरहेको थियो । त्यसैले म चाँही बाबुलाई निको भयो । मलाई देख्यो भने उ राति नि उठेर खेल्न खोज्छ । त्यसैले तपाईंको रुममा आएको हुँ । म यहीँ सुत्छु भन्थेँ। बच्चा सुतोस् भनेर तपाईंको रुममा आएको भनेपछि आमाले अरु सोच्नु भएन । ठिक छ, यहीँ सुत भन्नु भयो ।

अर्को दिन टाउको दुखेको छ भन्नु भयो । तातो पानीको वाफ लिन लगाएँ । ज्वरो थिएन तर पनि टाउको शरिर सवै दुखेको हुनाले सिटामोल खान दिएँ । त्यसपछि त उहाँ क्रमश: तग्रिँदै जानुभयो । बच्चालाई पनि ठिक हुँदै गएको थियो ।

मलाई र बच्चालाई कोरोना सोरोना होइन चिसोले हो कार्तिक लाग्न लागि सकेको छ चिसो बढदै छ । अस्पतालले जाँचेपछि त सवैलाई त्यही देखाउँछ छ नि-आमा भन्नुहुन्थ्यो ।

हो आमा, तपाईंलाई र बच्चालाई चिसोले नै हो भनेर मैले पनि थपेँ । सानो बावुलाई गाह्रो बनाएपनि आमा, श्रीमती र भाउजूमा भाइरस पुष्टि भएपनि सामान्य ज्वारोवाहेक खासै धेरै जटिलता आएन। दाइलाई निको हुँदै गएको थियो ।

घरमा म बाहेक सबै संक्रमित । मलाई नेगेटिभ देखाएकोले सवै काम म गर्छु । तपाईंहरु आराम गर्नुस् भनेर सवैलाई आफ्नो आफ्नो रुममा आइसोलेशनमा बस्न भनेको थिएँ ।

आमा भने दिउसो मसँगै बस्ने र कुरा गर्ने अनि टीभी हेर्नुहुन्थ्यो । मेरो नतिजा नेगेटिभ भएपनि हर समय म उहाँसँगै बसेँ ।

सँगै बस्दा मास्क लगाएर बस्ने गर्थें । गाह्रो भएको छ भने मैले लगाएपछि तपाईंले लगाउनु पर्दैन भनेर समझाउँथेँ । अरुको कोठामा जान र अरुसँग नजिक हुन भने दिएको थिइन ।

सवै संक्रमित भएपनि कसलाई बढी-घटी भाइरसको लोड फरक फरक हुन्छ भन्ने सुनेको थिएँ । उहाँलाई आफ्नो कोठाको अतिरिक्त र टीभी कोठामा र किचनमा आउन रोकेको थिइन ।अब संक्रमित हुन घरमा म मात्र बाँकी थिएँ । मलाई मेरो चिन्ताभन्दा आमा र बच्चाको ज्यादा चिन्ता भएकाले म आमालाई म भएको ठाउमा आउन बस्न कतै रोकिन । मैले तपाइँलाई निको भइसकेको छ भनिसको थिएँ ।

तर अरुको रुममा भने जान दिइन । दुई दिन उहाँको मोवाइल अफ गर्दिएँ । फोनले काम गरेन भनेर सोध्नुभयो । नेट बिग्रिएछ नेटले काम नगरेर हो भनेँ ।

त्यही भएर कसैको फोन नआएको रहेछ भन्नु भयो । म उहाँसँग गफ गर्दै सवै परिवारको हेरचारमा समय विताइ रहको थिएँ । क्रमस ठिक हुँदै गएको थियो । आमालाई सुरुमा तपाईंलाई भएर निको भइसके छ भनेको थियो नभन्दै आमालाई त्यस्तै निको हुँदै गयो थप कुनै समस्या आएन ।

घरमा सबैलाई पोजेटिभ देखाउँदा मलाई भने नेगेटिभ रिजल्ट आइरहँदा दाइ भाउजुहरुले मलाई भन्नु हुन्थ्यो,पहिलेनै भएर निको भएछ कि! सवैलाई सक्रमण हुँदा कसरी बचेको होला ! सबैलाई हुँदा एक जनामात्र कसरी बच्न सक्छ ? तेरो त एन्टिजिन नै चेक गर्न पठाउनु पर्ला – भन्नुहुन्थ्यो। पर्दैन चेक गर्न मलाई सेवा गर भनेर छोडेको होला नि । तपाईंहरुलाई निको भएपछि मलाई देखाउँछ- मैले जवाफ दिएँ ।

नभन्दै घरमा अरुलाई पुष्टि भएको ५ दिनपछि मलाई सुख्खा खोकी लाग्न थाल्यो ।  शरिर दुख्ने, ज्वरो आउने भयो।

लाग्यो घरमा कसैलाई छोडने भएन यो कोभिडले । म मात्र बाँकी थिएँ मलाई नि सर्‍यो जस्तो लाग्यो । दाइसँग चेक गर्न टेकु गएँ ।

दाइ र मैले स्वाब दियौँ । मेरो पोजेटिभ आयो, दाइको नेगेटिभ ।

मलाई पोजेटिभ देखिएकोमा कुनै समस्याका रुपमा लिइन । घरमा १ बर्षे छोरा र सात दशक पार गर्नुभएकी आमाले कोभिड हो भन्ने थाहा नभई कोभिड जितेको देखेर । यदि भएछ भने नि ‍केही हुँदैन भन्ने आत्मवल बढेको थियो ।

मलाई भने ज्वरो मात्र नभई सुख्खा खोकी, घाँटी दुख्ने र छाती दुख्ने लगायतका लक्षण देखिएका थिए तर मन कत्ति पनि आत्तिएन । सिटामोल खाएपछि ज्वरो बस्दै गयो, खोकी नि कम हुँदै गयो तर घाँटी भने अलि बढि नै दुख्यो ।

तातोपानी खाने र वाफ लिने गरेको छु । स्वाद केही पाइदैँन । सुधार भने हुँदै गएको छ ।

घरमा दाइको पोजेटिभ भएर पनि नेगेटिभ रिजल्ट आइसक्यो । परिवारका अन्य सदस्यहरु सवैले दशैँको पूर्णिमापछि मात्र चेक गर्ने भनेर बसेका छौं ।

हाम्रो दशैँ आइसोलेशनमै परेको छ । गम्भीर र जटिल खालका लक्षणहरु हामीमा छैनन् ।

मलाई सवैभन्दा पछि देखिएको हुनाले केही लक्षण अझै बाँकी छन् तर आमा, श्रीमती, भाउजू र छोरामा त्यस्तो कुनै समस्या छैन ।

उहाँहरुमा कोरोना संक्रमण पुष्टि भएको हप्ता दिन भन्दा बढी भइसकेको छ । सुरुमा उहाँहरुलाई एक दुई दिनको ज्वरो बाहेक अन्य समस्या देखिएन।

स्वास्थ्य मापदण्डले पोजेटिभ देखिएको १० दिनसम्म पनि लक्षण देखिएन भने बिरामीलाई पुन: पीसीआर गर्नु पर्दैन- भन्छ । त्यसैले लाग्छ मेरो परिवारले कोरोनालाई परास्त गरिसकेको छ ।

आइसोलेशनको बसाइ, नेगेटिभ नतिजाको प्रतिक्षा मात्रहो। त्यसैले मेरो अनुरोध तपाईंहरुलाई- सकेसम्म स्वास्थ्य सावधानी अपनाएर सेनिटाइजर, मास्क र सामाजिक दुरी कायम गरेर बच्ने प्रयास गर्नुहोला । यदि केहिगरि लाग्यो भने पनि पटक्कै नआत्तिकन आत्मबल दरिलो पार्नु भयो भने आधा त यसै निको हुँदोरहेछ।

आज विश्व आक्रान्त छ । यो विश्वव्यापी महामारीसँग लड्नु नै छ । आइसोलेशनबाट दशैँको शुभकामना ! दशैँ हेरक बर्ष आउँछ । यो बर्ष आशिर्वादलाई बचाउनु छ ।।

पोखरेल नेपाल टेलिभिजनमा कार्यरत सञ्चारकर्मी हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.