अस्पतालको गेटभित्र प्रवेश गरेका बिरामी उपचारबिना फर्कनुपर्दैन : स्वास्थ्यमन्त्री

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अस्पतालको गेटभित्र प्रवेश गरेको बिरामी उपचारबिना फर्कनु नपर्ने बताउनुभएको छ ।

‘अस्पतालको गेटभित्र प्रवेश गरेको बिरामी उपचारबिना फर्कनु नपरोस् भनेर गरिब, विपन्न र वेबरिस मानिसको आकस्मिक उपचार निःशुल्क गर्नेगरी व्यवस्था मिलाएका छौँ,’ दसैं, तिहार, नेपाल सम्वत, छठ लगायतका चाडपर्वको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै मन्त्री ढकालले भन्नुभएको छ, ‘सरकार सधैँ आम नागरिकको साथमै रहेको छ । यो महामारी विरूद्धको लडाईंमा राज्य र जनताको बीचमा बलियो र विश्वासिलो एकता स्थापित गर्न जरूरी छ ।’ उहाँले कोरोनाविरुद्ध लड्न सबै तहका सरकार, राजनीतिक दलहरू, समूदायहरू, नागरिक समाज, निजी क्षेत्रबाट निरन्तर सहयोगको अपेक्षा गर्नुभएको छ ।

मन्त्री ढकालले यसपटक कोरोना महामारीका कारण हामीले जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिँदै यस चाडलाई सीमित रुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो । ‘यस्ता चाड मनाइरहँदा विगतमा पनि हामीले स्वास्थ्यलाई ध्यान दिने, मित्रतालाई ध्यान दिने, सामाजिक शान्तिलाई ध्यान दिने, छिमेकीलाई प्रतिकूल असर नपरोस् भनेर ध्यान दिने गर्ने गरेकै हौँ,’ उहाँले शुभकामना सन्देशमा लेख्नुभएको छ, ‘यस पटक कोरोना महामारीका कारण यस विषयमा अझै बढी ध्यान दिनुपर्ने देखिएको छ । हामीले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसारको व्यवहार गर्‍यौं भने कोरोबाट बच्न सघाउन पुग्दछ । यसकारण म सम्पूर्णमा यसमा अलि बढी नै ध्यान दिन अनुरोध गर्दछु ।’

महामारी विरूद्धको लडाईंमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कार्यमा जनताबाट प्राप्त साथ सहयोग प्रति आभार व्यक्त गर्दै मन्त्री ढकालले मास्कको उचित प्रयोग गर्न, भौतिक दुरी कायम गर्न र पटक–पटक साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्न अनुरोध गर्नुभएको छ ।

मन्त्री ढकालले सरकारले निरोगी नेपालका लागि काम अघि बढाएको उल्लेख गर्दै संविधानमै सुनिश्चित भएको स्वास्थ्यको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि हामी काम गरिरहेको सन्देशमा लेख्नुभएको छ । ‘मन्त्रालयले सबै सरकारी, निजी तथा समुदायबाट सञ्चालित अस्पतालहरूलाई कोभिड–१९को परीक्षण तथा उपचार गर्ने गरी व्यवस्था गरेको छ । अक्सिजन, आवश्यक औषधि तथा उपकरणहरूको अभाव हुन नदिन मन्त्रालयले ठोस योजना सहित प्रभावकारी व्यवस्था मिलाएको छ,’ स्वास्थ्यमन्त्रीको भनाइ छ, ‘अस्पताल नभएका ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल स्थापना गरी सञ्चालनको लागि आवश्यक बजेट व्यवस्था गरी पठाइएको र स्थानीय तहहरूमा कार्य सुरु भइसकेको छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.