फेवातालको पुनः सिमाङ्कन गरिने
कास्की- पोखरामा रहेको फेवा तालको पुन: सिमाङ्कन हुने भएको छ । सर्वोच्च अदालतको फैसलापछि संघीय सरकारको निर्देशनमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा फेवातालको पुनः सिमाङकन गरिने भएको हो ।
सिमाङ्कन सम्बन्धमा गण्डकी प्रदेश सरकारले तत्कालिन जिविस कास्कीका सभापति पुण्यप्रसाद पौडेलको संयोजकत्वमा हालै चार किल्ला निर्धारण सिमाङकन तथा नक्साङ्कन समिति गठन गरेको छ ।
जसमा पोखरा महानगरपालिकाका प्रमुख, डिभिजन वन कार्यालयका प्रमुख, राष्ट्रिय ताल संरक्षण समितिका सदस्य, नापी विभागका उपसचिव सदस्य रहने छन भने नापी कार्यालय कास्कीका प्रमुख सदस्य सचिव रहनु हुनेछ।
पुन:सिमाङ्कनको काम तत्कालै थालिने समितिका संयोजक पौडेलले बताउनुभयो।
“विभिन्न समयमा भएका अध्ययन प्रतिवेदनलाई पनि आधार मान्छौं, पुराना तस्विरहरुको पनि अध्ययन गछौं, अनधिकृत दर्तालाई तोड्छौं, जग्गा हकभोगको आधार नभएकालाई पनि हटाउँछौँँ”- पौडेलले भन्नुभयो।
बढीमा ६ महिना भित्रै अध्ययन सक्ने उहाँको दावी थियो ।
प्रदेश सांसद राजीव पहारीले विश्वकै १३ औं सुन्दर तालको रुपमा फेवाताललाई चिनाउँदै “लेक रहे लेकसाइड रहने” बताउनुभयो ।
“अहिले स्थानीय चंखपुरसम्म रहेको ताल पुरिँदै खपैदीसम्म आएको छ, यसरी नै ताल पुरिँदै जाने हो भने भोलि तालको अतित्व नै संकटमा पर्न सक्छ” सांसद पहारीले भन्नुभयो ।
फेवाताल नेपालकै उत्कृष्ठ पर्यटकीय गन्तब्य भित्र परेपनि जलाधार क्षेत्रको संरक्षण अभावका कारण आजकल पुरिँदै गएको छ।
त्यस्तै तालको पानीमुनिको जग्गा समेत व्यक्तिको नाममा पुगेको गुनासो स्थानीयहरु गर्छन ।
तालको सिमाङकन सम्बन्धमा यसअघि वि.स २०१०, २०१८, २०३३, २०३८, २०५२, २०५८ र पछिल्लो पटक २०६६ मा अध्ययन भएपनि ठोस कार्यन्वयन हुन सकेको छैन ।।






प्रतिक्रिया राख्नुहोस्