घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

दमौली (तनहुँ)- अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण तनहुँको घिरिङ गाउँपालिकामा सात वटा झोलुङ्गे पुल र एक वटा बेलिब्रिजमा क्षति पुगेको छ । यस्तै, भिमाद–रामपुर सडकखण्ड प्रभावित भएको छ ।

बाढीपहिराले गाउँपालिकाका विभिन्न स्थानमा भएको क्षतिको अवस्था बुझ्न जिल्ला सुरक्षा समितिको टोलीले बुधबार स्थलगत अनुगमन गरेको थियो । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्की, घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापालगायतको टोलीले क्षतिग्रस्त संरचनाको निरीक्षण गरेको हो ।

बाढीपहिरोका कारण पुल तथा सडकमा क्षति पुगेपछि स्थानीयवासीको आवागमनमा समस्या भएको छ । विशेषगरी झोलुङ्गे पुलमा भएको क्षतिले गाउँका विभिन्न बस्तीबीचको सम्पर्क प्रभावित भएको छ । बेलिब्रिज तथा सडकमा भएको क्षतिले यातायात सञ्चालनमा चुनौती थपिएको छ । टोलीले क्षतिग्रस्त संरचनाको स्थलगत अवलोकन गर्दै तत्काल गर्नुपर्ने व्यवस्थापन तथा पुनःनिर्माणका लागि गर्नुपर्ने आवश्यक समन्वयका बारेमा जानकारी लिएको थियो ।

बाढीले क्षतिग्रस्त घिरिङ–डेढगाउँ पुलको सर्भे

घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिका–डेढगाउँ जोड्ने पुलको स्थलगत निरीक्षण तथा नापजाँच गरिएको छ । कालीगण्डकीमा आएको भीषण बाढीले पुलको पहुँचमार्ग बगाएपछि उक्त मार्गमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध छ । पुल क्षतिग्रस्त भएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या हुँदै आएको छ ।

घिरिङ गाउँपालिकाको समन्वयमा सडक विभाग, दमौलीँको प्राविधिक टोलीले क्षतिग्रस्त पुलको स्थलगत निरीक्षण तथा नापजाँच गरेको हो । सुरक्षाकर्मी तथा स्थानीय जनप्रतिनिधिको रोहवरमा प्राविधिक टोलीले पुलको अवस्थाबारे आवश्यक विवरण सङ्कलन गरेको गाउँपालिकाले जनाएको छ ।

घिरिङ गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारीले सर्भे सम्पन्न भएसँगै तत्काल वैकल्पिक व्यवस्था तथा पुल पुनःनिर्माणको काम अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.