म्याग्दीको मुदी, सडक सञ्जालमा जोडियो

म्याग्दी- म्याग्दीको धौवलागिरि गाउँपालिका–४ मुदी सडक सञ्जालमा जोडिएको छ । गाउँपालिकाको केन्द्र मुनाको फलियागाउँदेखि दरहुँदै मुदी जोड्ने सडक निर्माण गरेर यातायात सञ्चालन गरिएको हो ।
सडक निर्माण भएपछि डेढ घण्टाको बाटो बीस मिनेटमा छोटिएको छ । मुदीका विजय घर्तीमगरले यातायातका साधन चल्न थालेपछि यात्राको अवधि छोटिएको, ढुवानी भाडा घटेको र आवतजावतमा सहज भएको बताउनुभयो । “मुदीबाट मुना पुग्न अप्ठ्यारो भीर र खोल्साको बाटो डेढ घण्टा पैदल हिँड्नुपथ्र्यो,” उहाँले भन्नुभयो “गाडी चढेर बीस मिनेटमै पुगिन्छ ।
बिरामीलाई गाडीबाटै समयमै अस्पताल पुर्याउन सजिलो भएको छ ।” गत असार महिनामा मार्ग खोलिएको सडकमा खसेको पहिरो पन्छाएपछि यसै महिनादेखि जीप, ट्याक्टर र मोटरसाइकल चल्न थालेका छन् ।
यसअघि घोडा, खच्चर र भरियाबाट दैनिक उपभोग्य सामान ढुवानी गर्दा महँगो परेको थियो । मुदी म्याग्दीको जडीबुटीको भण्डार मानिन्छ । कृषकले पालेका खसीबोका बजार पठाउन सजिलो भएको छ ।
वडाध्यक्ष बेगप्रसाद घर्तीले मुदी, खिवाङ, नेरवाङ, नाउरा, बगर, चेचुङ, सिम्कोशका करिब एक हजार घरधुरी लाभान्वित भएका बताउनुभयो ।
विसं २०७३ मा शुरु भएको फलियागाउँदेखि मुदी सम्मको सडकको दुरी करिब ६ किलोमिटर छ । बस चलाउन मिल्ने गरी छ मिटर फराकिलो बनाइएको छ । अधिकांश ठाउँमा पहाड फुटाएर सडक निर्माण गर्न रु तीन करोड खर्च भएको गाउँपालिकाले जनाएको छ ।
आर्थिक वर्ष २०७३÷७४ मा तत्कालीन जिविसले रु ४२ लाख र राष्ट्रिय योजना आयोगले रु ४० लाख खर्चेर दरसम्म ट्याक खोलेका थिए । विसं २०७४ मा गाउँपालिकाले विनियोजन गरेको रु ९० लाखबाट सिमवाङको फाँटसम्म सडक पुर्याइएको थियो ।
२०७५ मा गाउँपालिकाको रु ६५ लाख र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत रु २३ लाख खर्च भएको थियो । गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले आर्थिक वर्ष २०७६/७७ मा रु ४५ लाख ४० हजारमा ठेक्का सम्झौता गरेको थापा निर्माण सेवाले एक कलोमिटर ३०० मिटर नयाँ सडक खनेको थियो ।
बाह्रै महिना यातायात सञ्चालनका लागि दरखोलामा मोटरेबल पुल निर्माण गर्न सङ्घीय सरकारबाट बजेट विनियोजन भएको बताउनुभयो ।
सात वडा रहेको धौवलागिरिको वडा न ५ मल्कवाङमा पूर्वाधार विकास कार्यालयले यसैवर्ष सडक पुर्याएको छ । वडा न २ मा पर्ने खोरियाको भूगोलमा सडक खनेपनि महतलाको भीरमा ट्याक खन्न बाँकी भएकाले यातायात सञ्चालन हुन सकेको छैन ।
खोरिया र लमसुङ तथा लुलाङका बासिन्दाबीच कताबाट सडक खन्ने भन्ने विषयमा विवाद हुँदा गत वर्ष रु एक करोड ५० लाखमा ठेक्का लागेको योजनाको काम भएन ।
गाउँपालिकाका उपाध्यक्ष छन्त्यालले मराङ, ताकम र मुनामा यसअघि नै सडक पुगेको थियो ।
वडा नं १ गुर्जामा गत वर्ष रु ४५ लाख विनियोजन गरेर शुरु गरेको आन्तरिक सडक निर्माण योजनालाई यसवर्ष रु २० लाख विनियोजन गरेर निरन्तरता दिएको बताउनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्