मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु होः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको भन्दै आफूले राजीनामा नदिने स्पष्ट पार्नुभएको छ ।
बुधबार शिक्षण अस्पतालमा मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजीनामा दिन लागेको भन्ने हल्ला फैलाइएको तर आफूले राजीनामा नदिने बताउनुभयो । ‘तपाईंहरु विचार गर्नुस्, के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ?,’ उहाँले भन्नुभयो, ‘मेरो लागि होइन, देशको लागि । मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन ।’

प्रधानमन्त्रीले आफू रहरले नभई जनताको समर्थनमा सरकारको नेतृत्वमा पुगेको स्मरण गराउनुभएको छ । ‘म यस ठाउँमा (प्रधानमन्त्रीमा) मेरो रहरले होइन, जनताको आवश्यकता र समर्थनले हो,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘म जालझेल र तिकडमबाट आएको होइन, ब्यापक जनसमर्थनबाट हो ।’
सरकारको परिवर्तनको हल्लाबाट टाढै रहन आग्रह गर्दै प्रधानमन्त्रीले ढुक्क भएर काम गर्न अपिल गर्नुभएको छ । ‘तपाईंहरु ढुक्क भएर काम गर्नुहोस्, यो सरकार फेरिन्छ कि बदलिन्छ कि भन्नेतिर नजानुहोस्,’ उहाँले भन्नुभयो ।
सरकार फेर्न पटक–पटक प्रयास भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता प्रवृत्तिहरुबाट प्रभावित नहुन पनि अपिल गर्नुभयो । ‘धेरैले धेरैपटक प्रयासहरु गरे, धेरै प्रकारका कोसिसहरु गरे । भित्र, बाहिर अनेक खालका कोसिसहरु भए । जेमा पनि आलोचना गर्ने । त्यसप्रकारका प्रवृत्तिहरु छन्, त्यसबाट प्रभावित नहुनुस्,’ उहाँको भनाइ थियो, ‘एकथरीकाहरुलाई अस्थिरताको खेती गरिरहने आदत छ । एडिक्ट भएका छन् कोही । त्यस्तो एडिक्टसनलाई के भनौं,’ उहाँको भनाइ थियो ।
प्रधानमन्त्रीले स्थिरता र जनताको जीवनमा परिवर्तन ल्याउन सरकारले काम गरिरहेको बताउँदै कोभिडसँगै सरकारले गरिबी, भ्रष्टाचार, विकृत्ति र विसंगतिलाई पनि जित्ने विश्वास व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्