ठेकेदारले कानून विपरीत पेटी कन्ट्रयाक्ट गरेको खुलासा
वीरगन्ज– नेपाल सरकारसँग ठेक्का सम्झौता गरी ठेकेदारले कानून विपरीत पेटी कन्ट्रयाक्टमा अरुलाई काम गराइरहेको तथ्य खुल्न आएको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्सा अन्तर्गत वीरगन्ज महानगरपालिका भित्र सडक तथा नाला निर्माण गर्न स्वच्छन्द, पप्पु युनाइटेट बिल्डर जेभीले सकार गरेको ठेक्कामा पेटिकन्ट्रयाक्टरसँग काम गराएको तथ्य प्रकाशमा आएको हो ।
त्यसरी पेटिकन्ट्रयाक्टमा काम गरिरहेका ठेक्दारहरुले नै वीरगन्जमा पत्रकार सम्मेलन गरी आफूहरुले विभिन्न स्थानमा पेटी कन्ट्रयाक्टमा सडक तथा नाला निर्माण गरेको तर त्यसको रकम पप्पु कन्ट्रसनका सञ्चालकले भुक्तानी नदिएको बताएका छन् ।
पत्रकार सम्मेलनमा ग्लोबल नेपालका प्रतिनिधि सन्दीप कुमारले आफुहरुले कपाली तमसुक गरी बजारबाट व्यजामा रकम उठाई सडक तथा नाला निर्माणको काम गरेको तर ती कामको रकम पप्पु कन्ट्रक्सनले भुक्तानी नदिंदा आफूहरुको घर खेत नै लिलाम हुने अवस्था उत्पन्न भएको बताउनुभयो।
पेटी-कन्ट्रयाक्टरहरुले एक कारोड रुपैयाँ भन्दा बढी रकम पप्पुसँग भुक्तानी लिन बाँकी रहेको दाबी गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्