चार महिनामा एक पटक पनि हाजिर भएनन स्वास्थ्यकर्मी

डोल्पा – उपल्लो डोल्पा क्षेत्रमा पर्ने फोक्सुण्डो स्वास्थ्य चौकी अहिले पनि करार कर्मचारीको भरमा चलेको छ ।

स्वास्थ्य चौकीमा कार्यरत तीन जना स्थायी कर्मचारी चार महिनासम्म पनि कार्यालयमा नपुगेपछि स्थानीय दुई जना करार कर्मचारीका भरमा स्वास्थ्य चौकी चलेको हो ।

अहिले स्थानीय पासाङ्ग टोमा रोकाय र हित कुमारी रोकायले स्वाथ्य चौकी धानेका छन् । शे–फोक्सुण्डो गाँउपालिका वडा नं ८ मा पर्ने उक्त स्वास्थ्य चौकीमा लामो समयसम्म पनि स्थायी कर्मचारी नआएपछि स्थानीय आक्रोसित भएका छन् ।

स्वास्थ्य चौकीमा कार्यरत अहेब पारस शाही,अहेब चन्द्रदेब यादब र अनमी नाज्मा बानु चार महिनासम्म पनि कार्यालयमा नपुगेको वडा नं ८ का स्थानीय तेजेन्द्र गुरुङ्गले बताउनुभयो ।

गत साउनदेखि शाही र बानु नआएको बताउँदै चार महिनाको अवधिमा एक पटक पनि कार्यरत स्थायी कर्मचारी कार्यालयमा नपुग्नु गैर-जिम्मेवारीपन भएको गुरुङ्गको भनाइ थियो ।

साउनमा घर गएका चन्द्रदेब यादब पनि असोज पहिलो सातामा आएर दुई हप्ता पनि नबसी घर फर्केको स्थानीय सुनाउँछन ।
स्वास्थ्य चौकीमा हाजिरी रजिष्टर हेर्दा नभेटिएकाले उनीहरुले घरमै हाजिरी लिएको हुनसक्ने आशंका गरिएको स्थानीय गुरुङ्गको भनाइ छ ।

स्वास्थ्य संस्थामा कर्मचारी फर्किने दिन कुर्दाकुर्दै पनि चार महिनासम्म कर्मचारी नपुगेपछि बाध्य भएर मिडियालाई जानकारी गराइएको स्थानीयको भनाइ छ ।

तीनै जना कर्मचरीलाई स्वास्थ्य चौकीमा फर्कन बारम्बार ताकेता गरेपनि अझै नर्फकिएको वडा नं ८ का अध्यक्ष निमा लामाले बताउनुभयो ।

“स्वास्थ्य चौकीमा औषधि छ या छैन त्यो पनि थाहा छैन्,कति बिरामी आउँछन्, कस्ता बिरामी आउँछन् त्यसको रेकर्ड पनि छैन्,उनीहरुले नियमित कार्यालयमा नपुगेरै तलव खाने काम गरेका  छन्”लामाले भन्नुभयो ।

स्वास्थ्यकर्मी नहुँदा वडा नं ८ मा पर्ने रिग्मा,सुम्दुवा, र्‍याची ,छेक्पा र ९ मा पर्ने पुग्मो गाउँका जनताले पाउने स्वास्थ्य सेवा प्रभावित हुँदै आएको उहाँको भनाइ छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.