अध्यक्ष ओलीले पनि छुट्टै राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने

• नेकपा सचिवालय बैठक १० दिनका लागि स्थगित • स्थायी कमिटी बैठक मंसिर १८ गते, केन्द्रीय कमिटी मंसिर २५ गते बस्ने

काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पनि छुट्टै राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुहुने भएको छ ।

पाँच दिनअघि बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले एकलरुपमा प्रतिवेदन प्रस्तुत गरेपछि अध्यक्ष ओलीले पनि अलग्गै प्रस्ताव तयार गर्नुहुने भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष ओलीले आफूले छुट्टै राजनीतिक प्रस्ताव तयार गर्ने भन्दै १० दिनको समय माग गर्नुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । ‘अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो तर्फबाट अर्को प्रस्ताव पेस गर्ने जानकारी गराइएको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले संवाददाताहरुसित भन्नुभयो, ‘गत बैठकमा प्रस्तुत भएको अध्यक्ष प्रचण्डको प्रस्तावसहित सबै सामग्री र अध्यक्ष केपी ओलीको प्रस्तावलाई मंसिर १३ गते बस्ने बैठकमा छलफल गरेर निकास निकालिने छ ।’

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित ५ सचिवालय सदस्यको आग्रहमा गत शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालयको बैठकले कार्यसूची नै बनाएर विवाद समाधान गर्ने निष्कर्ष निकालेको थियो । त्यस दिनको बैठकमा पाँच नेताले सचिवालय बैठक बोलाउन गरेको आग्रह, जवाफमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले लेखेको पत्र, प्रधानमन्त्रीको पत्रको जवाफमा दाहालले लेखेको पत्र र दाहालले पार्टी विवाद समाधानका लागि तयार गर्नुभएको प्रस्ताव र स्थायी कमिटीपछि जारी गरिएको अन्तरपार्टी निर्देशिका अध्ययनका लागि सचिवालय सदस्यहरुलाई वितरण गरिएको थियो ।

पार्टीको संकट निवारणका लागि भन्दै एक घण्टा बसेको सचिवालय बैठक मंसिर १३ गते बस्ने गरी स्थगित भएको हो ।

सचिवालयले आगामी मंसिर १८ गते स्थायी कमिटी बैठक बोलाउने र मंसिर १५ गतेका लागि तय भएको केन्द्रीय कमिटीको बैठक मंसिर २५ गतेका लागि सार्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.