आफ्नै समस्या लेख्दैनन् पत्रकार

काठमाडौं- भनिन्छ, डाक्टरले आफ्नै उपचार गर्न सक्दैन । कोरोनाका कारण समस्या नभएको कुनै क्षेत्र छैन । त्यसमध्ये सबैभन्दा बढी प्रभावित हुनेमा एउटा क्षेत्र सञ्चार क्षेत्र पनि हो ।

कोरोना भयावह शुरु भएको केही महिनामै मुलुककै ब्राण्डको रुपमा स्थापित भएका सञ्चारगृहले नै धमाधम प्रकाशन बन्द गर्नेदेखि पत्रकारको बिदाइ गर्ने घटना हेरे सञ्चार र पत्रकारमाथि आएको सङ्कट बुझ्‍न काफी हुन्छ ।

उसो त पत्रकारले हरेक व्यक्ति, क्षेत्र र निकायका समस्या उजागर गर्ने, समाधानका लागि सम्बन्धित पक्षलाई खबरदारी गर्ने र घचघच्याउने दैनिक कर्म गरिरहेका हुन्छन् ।

खाली समस्या मात्रै होइन, समाधानसमेत गराउन सक्ने हैसियत भएका देशभरका पत्रकार अहिले भने आफैँ चरम समस्या र सङ्कटमा छन् । समस्या भए पनि खुलेर आफ्ना कुरा व्यक्त गर्न सकिरहेका छैनन् ।

कोरोना महामारीका कारण पत्रकार निष्कासन हुनुपरेको, जबर्जस्त बिदाइमा परेर बेरोजगार हुनुपरेको, नियमित तलब नपाएको, कतिपय आधा तलबमा चित्त बुझाउनु परेकोजस्ता दर्जनौँ समस्या पत्रकारले झेलिरहेका छन् ।

योसँगै महत्वपूर्ण विषय त पत्रकार सञ्चारकर्मी कोरोना सङ्क्रमणको तीव्र जोखिमका बीच पनि महिनौँदेखि आफ्नो ज्यान जोखिममा राख्दै अग्रमोर्चामा उभिएर नागरिकलाई सही समयमा सही सूचना दिएर सचेत र सुरक्षित बन्ने बनाउने भूमिकामा छन् ।

बजार विज्ञापनमा टिकेको नेपाली मिडिया लामो समयको बन्दाबन्दीसँगै थलिएको छ । बागलुङमा कोरोना शुरु भएको गत वर्षको चैतदेखि आधा दर्जन पत्रकार विभिन्न बहानामा जागिरबाट निकालिने र भूमिका खुम्चिनेमा परेका छन् ।

यसका साथै नियमित पारिश्रमिक नपाएका र अबको जागिर थप धरापमा भएकाको सङ्ख्या पनि कम छैन । यद्यपि समस्या सङ्कटमा परेका पत्रकारले आजसम्म आधिकारिकरूपमा सम्बन्धित निकायमा कुनै गुनासो उजुरी भने गरेका छैनन् ।

अर्काको समस्यामा निरन्तर कलम चलाउँदै आएका पत्रकार आफ्नो समस्यामा मौन बस्न नहुने पत्रकार विजय राना बताउनहुन्छ । “राजधानीदेखि जिल्ला तहसम्मै पत्रकारले आफू समस्यामा पर्दा खुलेर समस्या राख्न सकिरहेका छैनन्, मालिकले के भन्लान् भन्दा पनि समाजले के भन्ला भन्ने प्रश्न र संशयबाट डराइरहेको बुझिन्छ”, रानाले भन्नुभयो ।

पत्रकारले समेत अहिलेको सङ्कटमा आफूलाई समयानुकूल परिवर्तन गर्न नसक्दा बेरोजगारको अवस्था आउन थालेको पत्रकार प्रकाश बराल बताउनुहुन्छ । कोरोना समस्या मात्र नभई अवसरका रूपमा समेत आएकाले प्रविधिको उचित प्रयोग गर्न उहाँको सुझाव छ ।

केन्द्रीय, प्रदेश तथा जिल्ला तहका विभिन्न मिडियाले बागलुङका केही पत्रकारलाई पाँच महिनादेखि सम्पर्क नगरेको पत्रकारहरूको अप्रत्यक्ष गुनासो छ ।

बागलुङमा कोरोनाका कारण केही पत्रकार सञ्चारकर्मीको समस्याबारे अप्रत्यक्षरूपमा गुनासो सुनिए पनि आधिकारिकरूपमा पत्रकार महासङ्घमा कसैको गुनासो उजुरी नपरेको नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषले बताउनुभयो ।

महासङ्घले पत्रकार सञ्चारकर्मीलाई अन्याय या समस्या भएको विषयमा कानूनी प्रक्रिया र सञ्चार गृहलाई जवाफदेही बनाउन आधिकारिकरूपमा आउनुपर्ने शिरिषको भनाइ छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.