महामारीमा फुटबल : नेपालले सिक्नु पर्ने पाठ

कोभिड १९ ले विश्वलाई नै आक्रान्त पारिरहेको अवस्थामा दक्षिण एसियामै पहिलो पटक बंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा बंगलादेशका राष्ट्रपिता शेर मुजिबर रेहमानको जन्म शताब्दीको उपलक्ष्यमा सञ्चालित मुजिब बर्षो फिफा अन्तर्राष्ट्रिय सिरिज २०२० ले स्वास्थ्यको सुरक्षात्मक उपाय अपनाए खेलकुदका प्रतियोगिता सजिलै सञ्चालन गर्न सकिने सन्देश दिएको छ ।

पहिलो खेल
ढाकामा निर्धारित दुईवटा मैत्रिपूर्ण खेल अनुसार पहिलो खेलमा बंगलादेश टिमको बढी बर्चस्व रहेको देखिएको थियो । यो खेल अघि नेपालको तुलनामा बढी अभ्यास गर्ने अभ्यास पाएको बंगलादेशले नेपाललाई शून्यका विरुद्ध २ गोलले पराजित गरी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि बंगलादेशको टिम सक्षम रहेको सन्देश दिएको थियो । नेपाललाई बंगलादेशले यसरी ५ वर्षपछि पराजित गरी बदला लिएको थियो । नेपाली खेलाडीहरु तिहार जस्तो महत्वपूर्ण पर्व मनाउन छोडेरपनि राष्ट्रको लागि खेल्न गएका थिए । लामो समयपछि खेलमा फर्केकाले आपसी तालमेलको कमी खड्किएको थियो । केही नयाँ खेलाडीले डेब्यु गरेकाले नयाँ र पुराना खेलाडीबीच समन्वयको अभाव देखिन्थ्यो । जसको असर स्कोरिङमा पर्न गयो । रक्षात्मक पंक्तिमा पनि तालमेल नभएकोतथा विपक्षी खेलाडीलाई पछ्याउनु पर्ने मामिलामा पनि चुकेकोले निराशाजनक नतिजामा चित्त बुझाउन नेपाली खेलाडीहरु बाध्य भएका थिए ।

दोश्रो खेल


नेपाल र बंगलादेशबीचको दोश्रो खेल भने दुवै पक्षबाट गोलरहित भई बराबरीमा टुंगिएको थियो । पहिलो खेलको तुलनामा दोश्रो खेलमा नेपालले राम्रो खेल प्रदर्शन गरेको थियो । खेल प्रारम्भ भएको पहिलो ४ मिनेटमै नेपालले गोल हुन सक्ने अबसर गुमाएको थियो । नेपाली मिडफिल्टर तेज तामाङले प्रहार गरेको कडा बल बंगलादेशी किपरले समाएका थिए । २४ औं मिनेटमा बंगलादेशकातर्फबाट भएको प्रहार बारमा लागेर फर्केपछि नेपाल जोगिएको थियो । नेपाली टिम माथि भएका कयौं प्रहार नेपाली गोलकिपर किरण चेम्जोङले जोगाएका थिए । यो खेलमा नेपाली खेलाडीहरुले खेलको अधिकांश समय आक्रामक खेल प्रस्तुत गरेका थिए । तर नेपाली टिम बढी हतारिएको देखिन्थ्यो । मध्यान्तरपछि खेलमा नेपालको आधिपत्य बढिरहेको देखिन्थ्यो । हतास रहेका बंगलादेशी टिमले बढी फल खेलेका थिए । कोरोनामुक्त भएर मैदानमा उत्रेका नेपाली खेलाडी रन्जित धिमालको खेल उत्कृष्ट रहेको थियो । अन्जन बिष्ट, सुजल श्रेष्ठ जस्ता खेलाडीले पनि राम्रो खेल प्रदर्शन गरेका थिए । खेल समाप्त हुनु ८ मिनेट अघि बंगलादेश पक्षको आक्रामक बल जोगाएर नेपाली गोलकिपर किरण चेम्जोङले गोल हुने अबस्था रोकेका थिए । अन्तिम समयतिर रन्जित धिमालले हानेको फ्रि किक नवयुग श्रेष्ठको डिबक्स भित्रैबाट प्रहारपछि बिपक्षको बारमा लागेर फर्किनु नेपाली टिमको दुर्भाग्य थियो । मध्यान्तरपछिको निरन्तर आक्रमणबाट उपस्थित स्थानीय दर्शकहरु गृह टिम पराजित होलाकि भनि हतास भइसकेको अबस्था थियो । तर नेपालको रक्षापङ्क्तिले गोल जोगाउन सकेपनि अग्र पङ्क्तिले गोल गर्न सक्ने वातावरण बनाउन चुक्नाले खेल बराबरीमा टुंगाउनुपनि नेपालकालागि उपलब्धी हुन पुग्यो ।

दर्शकहरुको डरलाग्दो भिड
नेपाल र बंगलादेशको खेल हेर्ने बंगलाबन्धु रंगशालामा दर्शकको भिड देखिन्थ्यो । प्रत्येक खेलमा ८ हजार दर्शकहरुलाई प्रवेश दिइएको थियो । विशिष्ठ कक्षको टिकटका लागि बंगलादेशी मुद्रा ५ सय टाका तथा ग्यालरीतर्फ १ सय टाका मुल्य राखिएको थियो । कोरोनाको संक्रमणकै बेला सञ्चालन भएका अन्य अन्तर्राष्ट्रिय फुटबलहरुमा यसरी यति धेरै दर्शकहरुको उपस्थिति भएको थिएन । यसैगरी टिकट बिक्री गरिएको पनि पाइएको छैन । स्वास्थ्य मापदण्ड पालनापछि मात्र दर्शकहरुलाई प्रवेश दिइएको आयोजकले जनाएपनि दर्शकहरुको सामाजिक दुरीतर्फ भने ध्यान नदिइएको टेलिभिजनको प्रत्यक्ष प्रसारणमा देखिएको थियो । सर्वसाधारण दर्शकको त के चर्चा गर्नु विशिष्ट कक्षमा समेत अतिथिहरु सामाजिक दुरी कायम नगरी सँगसँगै बसेर खेल हेरिरहेका थिए ।

फितलो सुरक्षा
नेपाल र बंगलादेशबीच दोश्रो दिनको खेल भइहेको थियो । स्थानीय समय अनुसार बेलुकीको ५ बजे सुरु भएको खेले मध्यान्तरपछि फ्लड लाइटको उज्यालोमा सञ्चालन भइरहेको थियो । यतिकैमा सुरक्षा घेरा नाघेर एकजना बंगलादेशी दर्शक अचानक मैदानको बीचमा पुगे । उनले बंगलादेश टिमका एकजना खेलाडीसँग सेल्फी खिच्न भ्याए । खेल सञ्चालन गरिरहेका लाईन्सम्यानले उनलाई मैदानबाट निस्कन आदेश दिएपनि उनले कुनै वास्ता नगरी फोटो खिच्ने क्रम जारी राखे । केहीबेरपछि सुरक्षाकर्मी मैदानभित्र पसेर उनलाई समातेर बाहिर निकालेका थिए । कोरोनाको भयावहको बेला सञ्चालन भएको अन्तर्राष्ट्रिय खेलमा ती दर्शक कसरी सुरक्षा घेरा पार गर्न सफल भए होलान आश्चर्य मान्न सकिन्छ । यदि उनीसँग हतियार भएको भए के हुन्थ्यो ? र नेपाली खेलाडीलाई दुर्व्यवहार गरिएको भए अवस्था कस्तो हुन्थ्यो होला यस्ता पक्षतर्फपनि खेल आयोजकले अगाडि नै ध्यान दिनु जरुरी देखिन्छ ।

नेपालको उपस्थिति खड्कियो
ढाकामा भएका दुबै खेलमा बंगलादेशका उच्च अधिकारीहरु उपस्थित हुनुहुन्थ्यो । तर नेपाली उच्च अधिकारीहरुको उपस्थिति भने हुन सकेन । नेपाल सरकारको स्वीकृतिमा राष्ट्रिय खेलकुद परिषदले नेपाललाई यो खेल खेल्न अनुमति दिएको थियो । यस्तो जोखिमपूर्ण अवस्थामा नेपालको खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद एवं अखिल नेपाल फुटबल संघको अध्यक्षको उपस्थिति जरुरी हुन्थ्यो । धेरैपछि मैदानमा उत्रेका खेलाडीहरुको मनोबल उकास्न पनि यस्तो उपस्थितिले सहयोग गर्दथ्यो भने अर्कोतर्फ विषम परिस्थितिमा पनि कसरी खेलका प्रतियोगिता सञ्चालन गर्न सकिन्छ भने जानकारी हासिल गर्ने यो महत्वपूर्ण अवसर थियो ।

जो पनि संक्रमित हुन सक्ने
यसपालीको प्रतियोगितामा नेपाल तथा बंगलादेशका केही खेलाडी टिमको छनौटमा परे पनि संक्रमणको कारण बेन्चमा बस्ने अवसरबाट समेत बन्चित हुन पुगे । केही नेपाली खेलाडी काठमाडौंमा संक्रमित भएको पाइएपछि ढाका जान पाएनन् भने केहीलाई ढाकामै गरिएको कोरोना परीक्षणमा संक्रमित भएको पाइएपछि मैदानमा उतारिएन । यस्तै स्थिति बंगलादेशतर्फ पनि भएको थियो । बंगलादेश टिमका प्रमुख प्रशिक्षक रहेका ब्रिटिस नागरिक जिमी डे नेपाललाई पराजित गरिसकेपछि संक्रमित भएको कारण दोश्रो खेलको रणनीति बनाउने अवसरबाट बन्चित भए । उनी यसरी संक्रमित भएको यो दोश्रो पटक थियो । उनले ढाकामा भएको खेलमात्र होइन कतारको दोहामा आगामी पुष ४ कते कतारसँग हुने विश्वकप फुटबलको छनौट खेल खेल्न भोलि दोहा प्रस्थान बंगलादेशको टिमसाथ जान पनि उनी बन्चित भएका छन् । उनी संक्रमणबाट मुक्त भएपछि कतार प्रस्थान गर्ने योजनामा छन् । सन २०१८ मे मा बंगलादेशी टिमसंग आबद्ध भएपछि पहिलो पटक उनले आफ्नो टिमको साथ रहन नपाएका हुन् । उनको अनुपस्थितिमा सहायक प्रशिक्षक स्टुआर्ट वाटकिसले प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका छन् । नेपाली राष्ट्रिय फुबल टिमका व्यवस्थापक, एन्फा केन्द्रीय सदस्य मधुसुदन उपाध्याय नेपाल र बङ्गलादेशबीचको मैत्रीपूर्ण खेलका लागि ढाकामा रहँदा कोभिड संक्रमित भएर ढाकामा नै उपचार गराउनुभयो ।

ढाकामा भएको मैत्रिपूर्ण खेलले दक्षिण एसियामा खेलको माहौलको पुन: श्रृजना गरेको छ । यसमा नेपाल पनि सहभागी हुन पाउनु गौरवको विषय बनेको छ । नेपालले लामो समयपछि विदेशी टिमसंग खेल्ने मौका पायो । यसबाट नेपाली खेलाडीहरु पक्कै उत्साहित भएका छन् । नेपालले विश्वकप फुटबलको छनौट अन्तर्गतको जोर्डन, अष्ट्रेलिया र चाइनिज ताइपेईसँग खेल्न बाँकी नै छ । ढाकामा भएका गल्तीहरुलाई सुधार्दै उच्च लक्ष्यका साथै नेपाली फुटबल टिमको प्रशिक्षण जारी राख्नु पर्दछ जसले नतिजा सुधार गर्न सहयोग गर्नेछ । राष्ट्रिय खेलकुद परिषदले अब सबै खेलका प्रशिक्षण खुल्ला गर्ने भएपछि नेपालले पनि आगामी दिनमा ढाकामा सम्पन्न भएजस्तै विभिन्न खेलका अन्तर्राष्ट्रिय मैत्रिपूर्ण प्रतियोगिताको आयोजना गर्न अग्रसरता लिनु पर्छ । आफ्नो गृह मैदानमा विभिन्न खेलका मैत्रिपूर्ण प्रतियोगिता आयोजना गर्न सकिएको खण्डमा यस्ता खेलले नेपाली खेलकोस्तर अभिवृद्धिमा पक्कै योगदान गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.