कहिले खुल्ने निश्चित भएन चिडियाखानाः सिसीएमसीको निर्णय कुर्दै व्यवस्थापन

काठमाडौं- गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखा कहिले खोल्ने भन्ने विषय अझै यकिन भएको छैन ।
चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) बाट निर्णय नआउँदा कहिले खुल्ने भन्ने निश्चित नभएको हो ।
विश्वभर फैलिएको कोभिड-१९ का कारण गत चैत ७ गतेदेखि अवलोकनका लागि पूर्णरूपमा चिडियाखाना बन्द गरिएको थियो ।
लामो समयसम्म बन्द रहँदा जीव जनावरको खानपान र कर्मचारी व्यवस्थापन गर्न समस्या भएकाले खोल्ने तयारी गरे पनि निर्णय नआएकाले अन्योल भएको चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
“कोरोना भाइरस सङ्क्रमण कम भएको छैन, त्रास केही कम भएकाले सावधानी अपनाएर खोल्ने तयारी गरेको हो । त्यसका लागि मापदण्ड पनि तयारी अवस्थामा छ”, पोखरेलले भन्नुभयो । मास्क अनिवार्य ल्याउनुपर्ने, एकपटकमा ८०० मानिसलाई मात्र अवलोकन गर्न दिने, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन छुन नपाउने, एक व्यक्ति बढीमा डेढ घण्टा मात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार गरिएको छ ।
यसअघिझैँ हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरी नै मापदण्ड तयार गरिएको भए पनि एकपटकमा केही सीमित व्यक्तिलाई मात्रै प्रवेशको व्यवस्था गरिएको छ ।
हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीवजनावर रहेका छन् । यहाँ मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा, रेडपाण्डा आदि रहेका छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् ।
नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।-






प्रतिक्रिया राख्नुहोस्