विकट जेलवाङमा प्राविधिक विषयको पढाइ

रोल्पा- केहि वर्ष अघिसम्म प्राविधिक शिक्षा अध्ययनका लागि पाल्पा, दाङ, नेपालगञ्ज लगायतका विभिन्न ठाउँमा धाउने रोल्पालीहरु अहिले यो समस्याबाट मुक्त भएका छन् ।

जिल्लाको सदरमुकाम लिबाङसहित विभिन्न स्थानमा यसअघि नै प्राविधिक शिक्षा सञ्चालन भएकोमा हालै मात्र दुर्गम गाउँ जेलबाङमा पनि प्राविधिक तर्फको पढाइ शुरु भएपछि विभिन्न ठाउँमा जानुपर्ने बाध्यता उनीहरुलाई हटेको हो ।

सुनछहरी गाउँपालिका-७ जेलबाङमा रहेको सामुदायिक विद्यालयमा प्रि-डिप्लोमा तहको पशु प्राविधिक कोर्ष शुरु भएसँगै अब पूर्वी रोल्पाका विद्यार्थीहरुले गाउँमै बसेर प्राविधिक शिक्षा पढ्न पाउने भएका छन् ।

हाल ४० जनाको कोटा रहेको प्राविधिक कक्षामा रोल्पा जिल्ला लगायत छिमेकी जिल्लाबाट समेत अध्ययन गर्न विद्यार्थीहरु आएका छन ।

करिब ८८ प्रतिशत कृषिमा निर्भर रहेको सुनछहरी गाउँपालिकामा अब व्यवसायिक कृषि गर्नेको संख्या बढ्ने अपेक्षा स्थानीयहरुको छ ।

सुनछहरी गाउँपालिकाले आवश्यक बजेटको व्यवस्था गरी प्रत्येक वडाबाट १ जना विपन्न तथा जेहन्दार बिद्यार्थी छनोट गरी ७ जनालाई छात्रवृत्तिमा अध्ययन गर्ने व्यवस्था मिलाएको छ ।

गाउँमै थोरै खर्चमा प्राविधिक विषयको अध्ययन गर्न पाउँदा विद्यार्थीहरु पनि हर्षित भएका छन् । “बाहिर पढ्न गएको भए धेरै खर्च हुन्थ्यो होला, गाउँमै अध्ययन गर्न पाइयो धेरै खुसी छु ’’- पशु प्राविधिक अध्ययन गरिरहेकी सुनछहरी गाउँपालिका–७ जेलबाङकी कविता रोकाले भन्नुभयो ।

सुनछहरी गाउँपालिकाको ५ लाख, लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको समपुरक कोषबाट ५० लाख, सी.टी.ई.भि.टी. ई. काठमाण्डौंबाट १० लाख र मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमको ३ लाख गरी ६८ लाखको लगानीमा प्राविधिक शिक्षा पढाइ सुरु भएको हो ।

२०३१ सालबाट प्राथमिक तहको पढाइ सुरु गरेको रोल्बाङ माविले गत वर्षदेखि कक्षा ११ संचालन गरेको थियो।

रोल्बाङ मावि जेलबाङमा सुरु भएको १८ महिने पशु प्राविधिक कोर्ष अर्थात सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रमको हालै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले उद्घाटन गर्नुभएको हो ।

जिल्लाको सबैभन्दा दुर्गम गाउँपालिकामा पहिलो पटक प्राविधिक बिषयको पढाइ सुरु भएकाले कृषि क्षेत्रको व्यबसायीकरण गर्न ठूलो टेवा पुग्ने प्राविधिक शिक्षाका प्रमुख प्रशिक्षक विशेष केसीको भनाइ थियो।

लामो समयको अध्ययन पश्चात प्राविधिक शिक्षा पढाइ सुरु गरिएकाले सुनछहरी गाउँपालिका मात्र नभई समग्र पूर्वी रोल्पा नै यसबाट लाभान्वित हुने सुनछहारी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.