सरकारलाई असफल बनाउने प्रयास भएको छः सञ्चार मन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारलाई असफल बनाउने प्रयास भइरहेकाले देशमा आर्थिक क्रान्ति गतिलिन नसकेको बताउनुभएको छ ।
नेपाल हस्तकला महासंघको ४८ औं वार्षिकोत्सव एवं हस्तकला वर्ष घोषणा गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले राजनीतिक स्थिरता कायम भएपछिको सरकारलाई पनि असफल बनाउने प्रयास हुँदा देशमा आर्थिक क्रान्तिको सुरुवात हुन नसकेको बताउनुभयो ।
हस्तकला उद्योगका समस्या समाधान गर्न कस्तो कानून आवश्यक पर्छ सम्बन्धित मन्त्रालय मार्फत सुझाव दिन मन्त्री गुरुङले आग्रह गर्नुभयो ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगडले हस्तकला उद्यमीहरुका समस्या समाधान गर्न मन्त्रालय तत्पर रहेको बताउनुभयो ।
हस्तकला समृद्धिका सम्भावना भन्ने नाराका साथ नेपाल हस्तकला महासंघले यो वर्षलाई हस्तकला वर्षका रुपमा मनाउने घोषणा गरेको छ ।
कोभिड १९ को असर पर्यटन उद्योग पछि हस्तकला उद्योग ब्यवसाय क्षेत्रमा अत्यधिक रुपमा परेको महासंघले जनाएको छ ।
विशेषगरी पश्चिमी मुलुकमा बढी आश्रित हस्तकला उद्योग ब्यवसाय अहिले समस्यामा छ।
विदेश निर्यात र आन्तरिक उपभोग गरी २० अर्बको हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको हस्तकला उद्योग व्यवसायले ११ लाख भन्दा बढि व्यक्तिहरु प्रत्यक्ष तथा परोक्ष रुपमा रोजगारी प्रदान महासंघले जनाएको छ।






प्रतिक्रिया राख्नुहोस्