गण्डकी गाउँपालिकाका सामुदायिक विद्यालयले पाए ल्यापटप र टेलिभिजन

गोरखा- गण्डकी गाउँपालिकाभित्रका ३० सामुदायिक विद्यालयलाई ल्यापटप तथा टेलिभिजन प्रदान गरिएको छ ।

विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन गण्डकी गाउँपालिकाभित्रका नौवटा माध्यमिक र २१ वटा आधारभूत विद्यालयमा ल्यापटप तथा टेलिभिजन वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका शिक्षा शाखा प्रमुख सुदीप पन्तका अनुसार विद्यालयमा आइटिसी सामग्री कार्यक्रम सञ्चालनका लागि सहजता प्रदान गर्न नेपाल युथ फाउन्डेशन र गण्डकी गाउँपालिकाको सहकार्यमा ती सामग्री उपलब्ध गराइएको हो । उहाँले भन्नुभयो, “फाउन्डेशनले सबै सामग्री खरीद गरी प्रत्येक विद्यालयलाई एक/एक थान ल्यापटप र टेलिभिजन वितरण गरेको छ ।”

ल्यापटप र टेलिभिजन खरीदका लागि गाउँपालिकाले फाउण्डेशनलाई रु पाँच लाख उपलब्ध गराएको उहाँले बताउनुभयो । सामग्री खरीदका लागि आवश्यक थप रु ३० लाख फाउन्डेशनले व्यहोरेको प्रमुख पन्तको भनाइ छ ।

“कोरोना सङ्क्रमणका कारण विद्यालयमा अनलाइन कक्षाको विकास गर्नुपर्छ भन्ने अनुभूति सबैलाई भएको छ”, उहाँले भन्नुभयो, “कम्तीमा एउटा कम्प्युटर र एउटा टिभी उपलब्ध गराएका विद्यालयमा आइटिसी कक्षामा विद्यार्थीले अनलाइन प्रविधिको माध्यमबाट पढ्न पाउँछन् ।”

उहाँले कम्प्युटर र टेलिभिजन उपलब्ध गराएका विद्यालयहरुले अब अनलाइन प्रविधिको प्रयोग गरी भिडियोमार्फत कक्षा सञ्चालन गर्न सक्ने अवस्था भएको बताउनुभयो ।

“सबै विद्यालयका एकजना शिक्षकलाई तालीमसमेत दिएर पठाइएको छ”, प्रमुख पन्तले भन्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.