भारतमा दोस्रो चरणको खोप अभियान मार्चदेखि

नयाँ दिल्ली– भारतमा कोरोनाभाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई खोप लगाइने भएको छ । त्यसैगरी दिर्घरोगी छन् भने ४५ वर्ष माथीकालाई पनि कोरोनाभाइरसविरुद्धको खोप दिइने अधिकारीहरुको भनाइ छ । केन्द्रीय मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरुसँगको कुराकानीका क्रममा केन्द्रीय मन्त्री प्रकाश जवादेकरले दोस्रो चरणको खोप अभियानका बारेमा हिजो जानकारी दिनुभएको हो ।

सरकारी स्वास्थ्य संस्थामा खोप लगाउनेलाई निःशुल्क खोप लगाउने व्यवस्था गरिए पनि निजी स्वास्थ्य संस्थामा खोप लगाउनेहरुले भने आफैँले रकम तिर्नु पर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । खोप लगाउनका लागि देशभरी सरकारी क्षेत्रबाट दश हजारभन्दा बढी खोप केन्द्रहरु तोकिएको र निजी क्षेत्रबाट २० हजारभन्दा बढी खोप केन्द्रहरु खोलिएका छन् ।

निजी क्षेत्रले लिने शुल्क पनि सरकारले तीन÷चार दिनपछि तोकिदिने केन्द्रीय मन्त्री जवादेकरले जानकारी दिनुभयो । भारतमा पहिलो चरणमा एक करोड सात लाख ६७ हजारभन्दा बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाएको तथ्याङ्क छ । कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित मुलुकहरुको अग्रपङ्तिमा पर्ने भारतले गत जनवरी १६ देखि पहिलो चरणको खोप अभियान सुरु गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.