गोरखाको लापुमा रैथाने प्रजातिको आलु भण्डार केन्द्र निर्माण

गोरखा-गोरखा भुकम्प पुन निर्माण तथा पुर्नउत्थान परियोजना अन्तर्गत धार्चे गाउँपालिका वडा नम्बर ७ लापुमा भुकम्प प्रतिरोधी आलु भण्डार केन्द्र निर्माण भएको छ ।

आलुको लागि प्रख्यात रहेको लापुमा १० टन क्षमताको भण्डार केन्द्र निर्माण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताउनुभयो । किसानलाई व्यवसायिक बनाउन र त्यहाँको उत्पादनलाई लामो समयसम्म प्रयोग गर्न भण्डार केन्द्र निर्माण गरिएको गुरुङको भनाइ थियो ।
स्वाँरा सघन गाउँ बिकास केन्द्रको सहयोगमा करिब २० लाख लागतमा यो भण्डार घर निर्माण भएको स्वाँरा सघन गाउँ बिकास केन्द्रका कार्यकारी निर्देशक सिताराम श्रेष्ठले बताउनुभयो ।

यस अघि त्यहाँका किसानले आलुको बिउ हरेक सिजनमा अन्यत्रबाट महँगोमा खरिद गर्नुपर्ने बाध्यता थियो । भण्डार केन्द्र बनेसँगै आफ्नो बारीमा उत्पादन भएको आलु त्यहाँ भण्डारण गरेर पुन: बिउको रुपमा प्रयोग गर्न पाउनेछन् । यसले स्थानीय रैथाने बालीको उत्पादनसमेत बढाउने नमुना कृषक समुहका अध्यक्ष सुर्यबहादुर गुरुङले बताउनुभयो ।

यो समुहले संकलन केन्द्र निर्माणको जिम्मा लिएको थियो । केन्द्र निर्माण भएसँगै आलु उत्पादन गर्ने ८० घरधुरी लाभान्वित भएका छन् ।

केन्द्रको घरमा एक कोठा सहित आलु भण्डारका लागि दराजको ब्यवस्था गरिएको छ । उक्त घर ढुङ्गा माटोबाट स्थानीय सामग्री प्रयोग गरी निर्माण गरिएको स्वाँरा सघन गाउँबिकास केन्द्रका इन्जिनियर रबिन कट्टेलले बताउनुभयो ।

भुकम्पमा घर भत्किएकाहरुलाई प्रतिरोधी बनाउन सिकाउने उद्देश्यले भण्डार केन्द्रको घर बनाइएको स्वाँरा सघन गाउँ बिकास केन्द्रले जनाएको छ ।

यस अघि किसानलाई आलु लगाउने सिजनमा बिउ अन्यत्रबाट खरिद गरेर ल्याउनुपर्ने बाध्यता थियो । गत वर्षदेखि स्थानीय स्तरमै उत्पादन भएको आलु बिउको रुपमा भण्डार गर्न थालेपछि महँगोमा खरिद गर्नुपर्ने बाध्यता हटेको समुहका अध्यक्ष गुरुङले बताउनुभयो ।

यस अघि भण्डार केन्द्रबाट करिब दुई हजार पाँच सय किलो बिउ बिक्री भइसकेको छ ।

धार्चे गाउँपालिका रैथाने आलु उत्पादनको पकेट क्षेत्रको रुपमा चिनिन्छ । त्यहाँ उत्पादन भएको आलु स्वादिलो हुने भन्दै जिल्ला भित्र र बाहिर पनि माग धेरै हुने गरेको स्थानीय बताउँछन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.