निषेधाज्ञामा नियमित उडान, सुरक्षित हवाई यात्राका लागि अपिल

काठमाडौँ- काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न जिल्लामा आजदेखि निषेधाज्ञा लागू हुँदैछ । निषेधाज्ञाकैबीच आन्तरिक तथा अन्तरराष्ट्रिय उडान नियमित हुनेभएको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निषेधाज्ञा लागू गरिएका अवस्थामा पनि दुवैतर्फका उडान नियमित हुने जनाएको छ ।

क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले निषेधाज्ञा लागू हुने आजदेखि आन्तरिक र अन्तरराष्ट्रिय उडान नियमित सञ्चालन गरिने जानकारी दिनुभयो ।

विमानस्थलसम्म जाने यात्रु तथा एयरलाइन्सका कर्मचारीको सहज आवागमनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरिएको क्यानको भनाइ छ । आन्तरिक उडान नियमित हुने भए पनि निषेधाज्ञाअघिको तुलनामा यात्रुको सङ्ख्या कम हुने प्रवक्ता क्षेत्रीले बताउनुभयो ।

तथापि निषेधाज्ञाको नराम्ररी असर आन्तरिक हवाई उडानमा परेको छ । निषेधाज्ञा हुने अघिल्ला दुईदेखि तीन दिनमा वायुसेवा प्रदायक कम्पनीले उडान सङ्ख्या थपेर यात्रुलाई गन्तव्यमा पुर्‍याउन ब्यस्त रहे ।

यसबीचमा काठमाडौँ बाहिरिने र भित्रिने हवाई यात्रु पनि ह्वात्तै बढेका छन् । यात्रुको सुविधालाई मध्यनजर गर्दै अधिक सङ्ख्यामा उडान थपिएको एयरलाइन्सले जनाएका छन् ।

आन्तरिक उडानका ठूला हवाई सेवा प्रदायक कम्पनीहरु बुद्ध एयर, यती एयलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीलाई यात्रु ओसार्ने चटारो परेको छ । यात्रुको चाप बढेपछि वायुसेवा कम्पनीले उडान थपेका छन् । बुद्धले आज २२ र मङ्गलबार २० तथा यतीले पाँच उडान थपेको थियो ।

निषेधाज्ञा लागू भए पनि आन्तरिक उडान नरोक्ने सरकारको निर्णय अनुरुप एयरलाइन्सले उडान नियमित सञ्चालन गर्नेछन् । यसबीचमा यात्रुको सङ्ख्या भने न्यून रहेको कम्पनीको भनाइ छ ।

हवाई कम्पनीले स्वास्थ्य प्रोटोकल पालना गरेर उडान नियमित गर्ने जनाएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् ।

अन्तरराष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान गर्दै आएकामा कोभिड महामारीकै बीच अहिले २० वायुसेवा प्रदायकले अन्तरराष्ट्रिय उडान गरिरहेका छन् ।

सुरक्षित हवाई यात्राका लागि अपिल

वायु सेवा सञ्चालकहरुको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घ, नेपालले कोभिड महामारीको विषम परिस्थितिमा हवाई यात्रा सुरक्षित नै हुने हुदाँ सम्पूर्ण यात्रुमा सुरक्षा मापदण्डको पूर्ण पालना गर्नेगरी हवाई यात्राका लागि अपिल गरेको छ ।

सङ्घले एक विज्ञप्ति जारी गर्दै सदस्य वायुसेवा कम्पनीहरुले सरकारले तोकेको स्वास्थ्य मापदण्ड एवं नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमोदित कोभिडसम्बन्धी ‘स्टान्डर्ड अपरेटिं प्रसिउडर’ को पूर्णरुपमा पालना गर्नेगरी यात्रुलाई सेवा उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको छ ।

मन्त्रिपरिषद्को वैशाख १३ गतेको निर्णयअनुसार आन्तरिक हवाई उडान वायुसेवा कम्पनीहरुले यथावतरुपमा हवाई सेवा सञ्चालन भइनै राख्ने निर्णय गरेको सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले बताउनुभयो ।

अहिलेको असहज परिस्थितिमा हवाई यात्रा सुरक्षित रहेको र स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरेर सेवा प्रदान गरिने उहाँले उल्लेख गर्नुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.