साइबर ब्युरोले सञ्चारकर्मीलाई बोलाउनु कार्यसम्पादन अन्तर्गतकै कदम : प्रहरी

काठमाडौँ – नेपाल प्रहरीविरुद्ध सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा गलत समाचार र सन्देशहरू प्रचार भइरहेको विषयमा प्रहरीको साइबर ब्युरोले सञ्चारकर्मीहरूलाई बोलाएको कार्यलाई नेपाल प्रहरीले आफ्नो कार्यसम्पादनअन्तर्गतको कदमका रूपमा व्याख्या गरेको छ ।
प्रधानमन्त्री कार्यालयबाट यस विषयमा व्यक्त चासोलाई सम्बोधन गर्दै साइबर ब्युरोले त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारबारे सामान्य जानकारी लिने उद्देश्यले केही सञ्चारकर्मीलाई कार्यालयमा बोलाएको प्रहरीले जनाएको छ ।
गलत समाचार र सन्देशले प्रहरीको व्यावसायिकता, सर्वसाधारणको विश्वास, सरकार र प्रहरी संगठनबीचको सम्बन्ध तथा अनुसन्धानलगायतका विषयमा जनमानसमा नकारात्मक धारणा सिर्जना गर्न सक्ने प्रहरीको भनाइ छ ।
नेपाल प्रहरीले सुरक्षित समाज निर्माणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति सदैव प्रतिबद्ध रहेको जनाएको छ ।
राज्यको चौथो अंगका रूपमा रहेको प्रेसप्रति नेपाल प्रहरी सकारात्मक रहेको उल्लेख गर्दै प्रहरीले यस विषयमा सम्बन्धित सबैलाई आफ्नो धारणा स्पष्ट पारेको हो ।






प्रतिक्रिया राख्नुहोस्