सीमामा अनिवार्य पिसीआर परीक्षण गर्न सभापति देउवाको सुझाव

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतबाट घर फर्किएका नागरिकको सीमा नाकामा अनिवार्य पिसीआर परीक्षण गर्न सरकारलाई सुझाव दिनुभएको छ । आफ्नो निवास बुढानिलकण्ठमा आज पत्रकार सम्मेलन गर्र्दै सीमा नाकामा अनिवार्य परीक्षण गर्न तथा त्यसको नतिजा नआउँदसम्म नागरिकलाई होल्डिङ सेन्टरमा राख्न उहाँले सरकारसँग माग गर्नुभयो ।

परीक्षणका क्रममा कोरोना सङ्क्रमित भएका नागरिकलाई स्थानीय तहसँग समन्वय गरी आइसोलेशनमा राख्ने व्यवस्था मिलाउन सभापति देउवाले सरकारलाई सुझाव दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कोरोना रोकथाम र नियन्त्रणमा गम्भीर नभएको सभापति देउवाले आरोप लगाउनुभयो ।

काठमाडौँ उपत्यकाबाट ठूलो सङ्ख्यामा सर्वसाधारण गाउँ फर्किएकाले कोरोना थप फैलिने खतरा बढेको सभापति देउवाले सुनाउनुभयो । सङ्क्रमित भएका गाउँमा परीक्षण नै नगरी गएका कारण थप भयावह आउनेप्रति उहाँले सचेत गराउनुभयो । निषेधाज्ञाको अवधिमा सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक काम गर्न सभापति देउवाले सरकारलाई सुझाव दिनुभयो । वर्तमान सरकारको ध्यान उद्घाटन, भिडभाड र तडकभडकमा बढी केन्द्रित भएको आरोप लगाउँदै उहाँले संक्रमण रोक्न सरकारले कुनै ठोस काम गर्न नसक्दा निषेधाज्ञा गर्नुपर्ने अवस्था आएको जिकिर गर्नुभयो ।

सभापति देउवाले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई जोखिममा काम गरेको भत्ताको सुनिश्चिता गर्न सरकारसँग माग गर्नुभयो । उहाँले सरकारी तथा निजी क्षेत्रका स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति तत्काल व्यवस्थापन गर्न आग्रह गर्नुभयो । कोरोनाविरूद्धको खोप आपूर्तिको सुनिश्चितता गर्नुपर्ने, विदेश जानेका हकमा पिसीआर परीक्षण गर्ने स्वास्थ्य संस्था बढीभन्दा बढी तोक्नुपर्ने उहाँको भनाइ छ । सभापति देउवाले कोरोना महामारीबाट प्रभावित भएका सबैलाई आवश्यक राहत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । व्यवसायीका लागि राहत तथा सहयोगको प्याकेज ल्याउन उहाँले सरकारसँग माग गर्नुभयो ।

सभापति देउवाले केन्द्रदेखि गाउँसम्मका पार्टीका सबै संरचनालाई कोरोनाविरुद्धको सचेतना अभियानमा खटाउन निर्देशन दिनुभयो । अहिलेको महामारीको मिलेर सामना गर्न पार्टी पंक्ति सबैलाई उहाँले आग्रह गर्नुभयो । कोरोना सङ्क्रमितलाई उपचार अभाव भएमा त्यसका लागि सहयोग गर्न उहाँले देशभरका आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभयो । अमेरिकाले खोप सहयोग गर्न लागेकामा त्यसको स्वागत गर्दै सभापति देउवाले भारत र चीनले खोप उपलब्ध गराएकामा धन्यवाद दिनुभयो ।

मास्क अनिवार्य लगाउने, साबुन पानीले हात धुने, भौतिक दूरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ लागू गर्न अनुगमन संयन्त्र बलियो बनाउन सभापति देउवाले माग गर्नुभयो । समस्यामा परेकाका लागि सहयोग अभियान चलाउन उहाँले निर्देशन दिनुभयो ।
–––

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.