विश्वासको मतका विपक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा लिने विश्वासको मतका विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

संसदीय दलको शनिबार बसेको बैठकले प्रतिनिधिसभाको यही वैशाख २७ गतेको बैठकमा हुने विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिनुभयो । बैठकले अन्य दललाई समेत विश्वासको मतका विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने र कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन पहल गर्ने गत चैत २१ गतेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयलाई अनुमोदन गरेको छ । बैठकले सरकारले हालै जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानको मर्मविपरीत भएको ठहर गर्दै सोको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा सहभागी नहुने र अन्य सदस्यलाई पनि सहभागी नहुन आग्रह गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

बैठकले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारलाई प्रभावकारी काम गर्न तथा यथाशीघ्र कोभिड–१९ विरुद्धको खोप ल्याई सबै जनतासमक्ष सहज रुपमा पुर्‍याउन आग्रह गर्ने निर्णयसमेत गरेको छ । संसदीय दलको बैठकले कोभिडविरुद्धको खोप उत्पादन गर्ने देशलाई नेपाललाई खोप उपलब्ध गराउन आग्रह गर्ने निर्णयसमेत गरेको छ ।

अस्पतालमा तत्काल अक्सिजन आपूर्ति गर
नेपाली कांग्रेसले अस्पतालमा अक्सिजन कमीको समस्या तत्काल सम्बोधन गर्न, कृत्रिम अभाव सिर्जना गर्नेलाई कार्वाही गर्न र आवश्यकतानुसार विदेशबाट भए पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न सरकारसँग माग गरेको छ । पार्टीको कोभिड—१९ अनुगमन समितिले देशभरका अस्पतालमा शय्या नपाएर कोरोना उपचारबाट वञ्चित हुनुपरेको र अक्सिजनको अभाव हुन थालेको प्रति सरकारलाई संवेदनशील हुन आग्रह गरेको छ ।

कांग्रेस सहमहामन्त्री एवं समिति संयोजक डा प्रकाशशरण महतले आवश्यकतानुसार देशका विभिन्न ठाउँमा कोभिड–१९ उपचारका लागि अस्थायी अस्पतालको समुचित व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकारको सुनश्चितता गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.