डेमोक्रेसी र डेलिभरीबीच पुलको काम कांग्रेसले गर्छ :थापा
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्र र जनतालाई प्रत्यक्ष सेवा तथा परिणामसँग जोड्ने पुलको काम कांग्रेसले गर्नुपर्ने बताउनुभएको छ। मुलुकमा लामो राजनीतिक संघर्ष र परिवर्तन भए पनि रोजगारी सिर्जना, युवा पलायन रोक्ने र जनताको जीवनस्तर सुधार्ने विषयमा अब सबै राजनीतिक दल मिलेर गम्भीर समीक्षा गर्नुपर्ने उहाँको भनाइ छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनेको वर्तमान राजनीतिक अवस्थालाई पनि विगतको राजनीतिक यात्रासँग जोडेर हेर्नुपर्ने बताउनुभयो।
‘३५ वर्षदेखि युद्ध किन व्यहोर्यौँ? शान्ति प्रक्रियामा पनि यहीँ भयो। यही ३५ वर्षभित्र सबै गाउँ रित्तिए। किन रोजगारी भएन? युवा किन पलायन भयो?’ थापाले प्रश्न गर्नुभयो।
मुलुकले लामो समय राजनीतिक संघर्ष र संक्रमण व्यहोरे पनि त्यसको प्रतिफल जनताको दैनिक जीवनमा पर्याप्त रूपमा पुग्न नसकेको भन्दै उहाँले यसको कारण सबै राजनीतिक दलले मिलेर खोज्नुपर्ने बताउनुभयो। राजनीतिक परिवर्तनसँगै आर्थिक र सामाजिक रूपान्तरणलाई पनि सँगसँगै अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।
‘यो विषय हामी सबै मिलेर खोज्नुपर्छ। हामी महाधिवेशनमा यही कुरा डेलिभरी दिनका लागि के गर्ने, कांग्रेस कस्तो बनाउने भनेर मन्थन गर्नेछौँ,’ थापाले भन्नुभयो।
कांग्रेसले अब लोकतन्त्रको कुरा मात्रै नगरी जनतालाई परिणाम दिने राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्नुपर्ने उहाँले बताउनुभयो। लोकतान्त्रिक व्यवस्था र जनताको अपेक्षाबीचको दूरी घटाउने जिम्मेवारी कांग्रेसले लिनुपर्ने उहाँको भनाइ थियो।
‘डेमोक्रेसी र डेलिभरीको पुलको काम कांग्रेसले गर्छ,’ थापाले भन्नुभयो, ‘पुराना र नयाँ पुस्तालाई जोड्ने काम कांग्रेसले गर्छ। यही संकल्प गर्छ।’
कांग्रेस कमजोर वा निष्क्रिय हुँदा लोकतान्त्रिक व्यवस्था र जनताबीचको विश्वासमा समेत असर पर्न सक्ने उहाँले बताउनुभयो। कांग्रेसले आफूलाई जनताको आवश्यकता र अपेक्षासँग जोडेर अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।
‘आजको दिनमा नेपाली कांग्रेस बन्द भयो भने के हुन्छ भन्ने कुरा जनताले सोच्नुपर्ने बनाउने काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘पुल ढल्यो भने विश्वास ढल्छ। त्यो विश्वासका लागि कांग्रेसले काम गर्नुपर्ने छ।’
थापाले कांग्रेसले आफ्नो राजनीतिक सिद्धान्त र मूल्यमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताउनुभयो। तत्कालको राजनीतिक लाभका लागि सिद्धान्तसँग सम्झौता गर्ने प्रवृत्तिबाट पार्टी टाढा रहनुपर्ने उहाँको भनाइ थियो।
‘हामी लाउलापाते होइनौँ, हामी स्पष्ट हुन्छौँ। सिद्धान्तमा अडिनुपर्दा पाँच वटा चुनाव हार्न तयार छौँ, तर सिद्धान्तसँग सम्झौता गर्दैनौँ भन्ने हुनुपर्छ,’ उहाँले भन्नुभयो।
आर्थिक विकास र रोजगारी सिर्जनाका लागि निजी क्षेत्र तथा उद्योगी व्यवसायीको भूमिकालाई सम्मान गर्नुपर्नेमा पनि थापाले जोड दिनुभयो। उद्योगीले सम्मान पाउने वातावरण निर्माण गर्नुपर्ने भन्दै उहाँले उत्पादन, लगानी र रोजगारी विस्तारलाई राजनीतिक प्राथमिकतासँग जोड्नुपर्ने बताउनुभयो।
निर्वाचन आउने र जाने भए पनि त्यसको महत्वलाई बेवास्ता गर्न नहुने थापाले बताउनुभयो। निर्वाचनको परिणाम महत्वपूर्ण भए पनि तत्कालको चुनावी लाभभन्दा दीर्घकालीन रूपमा देश र जनताको हितमा काम गर्ने राजनीतिक संस्कार आवश्यक रहेको उहाँको भनाइ थियो।
थापाले १५औँ महाधिवेशनलाई कांग्रेसको नेतृत्व परिवर्तन गर्ने मात्रै नभई पार्टीको आगामी राजनीतिक दिशा, नीति र जनतालाई परिणाम दिने क्षमताबारे गम्भीर मन्थन गर्ने अवसरका रूपमा अघि बढाउने बताउनुभयो।
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन
सभापति थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उहाँ सहभागी हुन नआएको बताउनुभएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले देउवालाई लिनका लागि पार्टीका नेताहरू कति पटक जाने र कसरी जाने भन्ने प्रश्नसमेत उठाउनुभयो।
‘पूर्वसभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौँ। तर आउनुभएन। कति पटक जाने हो, लिन कसरी जाने हो?’ थापाले भन्नुभयो।
उहाँले कांग्रेसका केही साथीहरू पार्टीबाट बाहिरिएको उल्लेख गर्दै उनीहरूले कांग्रेस छाडेको हो कि कांग्रेसले उनीहरूलाई छाडेको हो भन्ने विषयमा पनि अब स्पष्ट उत्तर दिनुपर्ने बताउनुभयो।
‘केही साथीहरू छोडेर जानुभएको छ। उहाँहरूलाई कांग्रेसले छाडेको हो। यो पनि हामीले भन्नुपर्ने छ। यसको उत्तर अब दिनुपर्छ,’ थापाले भन्नुभयो।
थापाले नयाँ नेतृत्वसँगै कांग्रेसले विगतका विषयमा स्पष्ट समीक्षा गर्दै अघि बढ्नुपर्ने संकेत गर्नुभयो। उहाँले पार्टीभित्र रहेका सबैलाई समेट्ने र बाहिरिएका नेताहरूका सम्बन्धमा पनि स्पष्ट धारणा बनाउनुपर्ने बताउनुभयो।
संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ
सभापति थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनुभएको छ। संसद र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई खुलामञ्च आवश्यक रहेको उहाँको भनाइ छ।
सभापति थापाले १० वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै यो काठमाडौंको एउटा चौर मात्रै नभएको बताउनुभयो। नेपाली राजनीतिक आन्दोलनमा खुलामञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको र यहीँबाट धेरै राजनीतिक दल तथा नेताले आफ्नो राजनीतिक यात्रा अघि बढाएको उहाँले स्मरण गर्नुभयो।
‘खुलामञ्च १० वर्षपछि खुलेको छ। यो काठमाडौंको चौर मात्रै होइन,’ थापाले भन्नुभयो, ‘यहाँ बसेर ठूला दल बनेका छन्, यहीँबाट साना पनि बनेका छन्।’
जननायक बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले समेत यही खुलामञ्चबाट भाषण गर्नुभएको स्मरण गर्दै थापाले खुलामञ्चले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएको बताउनुभयो।
‘खुलामञ्चले मतभेदलाई एकै ठाउँमा राख्न सहयोग गर्छ,’ उहाँले भन्नुभयो।
थापाले अब यस्ता खुलामञ्च देशका विभिन्न ठाउँमा आवश्यक रहेको बताउनुभयो। त्यसका लागि सबैभन्दा पहिले सिंहदरबार र संसदभित्रै खुलापन आवश्यक रहेको उहाँको भनाइ थियो।
‘संसद अहिले खुला छैन। जनतालाई प्रधानमन्त्रीले जनताको ठूलो कुरा नसुनेसम्म खुला रहँदैन,’ उहाँले भन्नुभयो।
सत्तामा रहेकाहरूले जनताको प्रश्न सुन्नुपर्ने र उनीहरूसँग संवाद गर्नुपर्ने भन्दै थापाले लोकतन्त्रमा जनताको आवाजलाई बन्द गर्न नहुने बताउनुभयो। संसद जनताको आवाज र प्रश्नको प्रतिनिधित्व गर्ने थलो भएकाले त्यसलाई थप खुला र उत्तरदायी बनाउनुपर्ने उहाँको भनाइ थियो।
थापाले पहाडदेखि तराईसम्म र भौतिक ठाउँदेखि विद्युतीय माध्यमसम्म खुला संवादका थलो आवश्यक रहेको बताउनुभयो। नागरिकले आफ्ना कुरा राख्न र नेतृत्वलाई प्रश्न गर्न पाउने वातावरण देशभर बनाउनुपर्ने उहाँको धारणा थियो।
पार्टीभित्र पनि यही संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै थापाले नेतामाथि प्रश्न उठाउँदा पार्टी सदस्यता नै गुम्ने अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो।
‘पार्टीभित्र पनि खुलामञ्च चाहिएको छ। नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्,’ उहाँले भन्नुभयो।
उहाँले फरक मत राख्ने, नेतृत्वलाई प्रश्न गर्ने र आलोचना गर्ने अधिकारलाई पार्टीभित्रै संस्थागत गर्नुपर्ने बताउनुभयो। लोकतन्त्र बाहिर मात्रै खोजेर नहुने भन्दै थापाले राजनीतिक दलको आन्तरिक संरचना र कार्यशैली पनि लोकतान्त्रिक हुनुपर्ने धारणा राख्नुभयो।
‘संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ,’ थापाले भन्नुभयो।
१० वर्षपछि खुलामञ्चमा कांग्रेसको महाधिवेशन आयोजना हुनु पनि खुला संवाद र जनताबीचको सम्बन्धलाई पुनः स्थापित गर्ने प्रतीक भएको उहाँको भनाइ थियो। खुलामञ्चलाई राजनीतिक सभा गर्ने ठाउँका रूपमा मात्रै नभई प्रश्न, संवाद, असहमति र विचार आदानप्रदानको खुला थलोका रूपमा विकास गर्नुपर्ने उहाँले बताउनुभयो।
म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो, जसले भदौ २३ र २४ को घटना निम्त्यायो
सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको बताउनुभएको छ। यस्तो प्रवृत्तिले सबै राजनीतिक दल र नेता एउटै हुन्, सबै खराब छन् भन्ने सन्देश जनतामा गएको र त्यसकै परिणामस्वरूप भदौ २३ र २४ गतेको घटना भएको उहाँको भनाइ छ।
सभापति थापाले प्रधानमन्त्री बनेका व्यक्ति फेरि प्रधानमन्त्री बन्न खोज्ने, नेता बनेका व्यक्ति फेरि नेतृत्वमा दोहोरिरहने र मन्त्री बनेका व्यक्ति पनि पटकपटक सत्तामा जाने प्रवृत्तिले जनतामा राजनीतिप्रति वितृष्णा बढाएको बताउनुभयो।
‘म्युजिकल चियरजस्तो बनेको थियो। प्रधानमन्त्री बनेका फेरि बन्न मन लाग्ने थापाले भन्नुभयो।






प्रतिक्रिया राख्नुहोस्