म्यानचेष्टर सिटी चेल्सीसँग पराजित
इङ्लिस प्रिमियर लिगको शनिबार राति सम्पन्न खेलमा शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटी चेल्सीसँग पराजित भएको छ ।
युईएफए च्याम्पियन्स लिगको फाइनलअघि यी दुई टिमको प्रिमियर लिगको भेटमा चेल्सीले सिटीमाथि २(१ गोलको जीत निकाल्दै सिटीको उपाधी जित्ने धोकोलाई कुर्नुपर्ने बनाएको छ । पहिलो हाफको ४४औं मिनेटमै सिटीका स्ट्राइकर रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफकै इन्जुरी समयमा सिटीले पाएको पेनाल्टी सर्जियो अगुएरोले गोल गर्नबाट चुकेपछि सिटीले अग्रता दोब्बर गर्न सकेन । दोस्रो हाफको ६३औं मिनेटमा चेल्सीले गोल गर्दै खेल बराबरीमा पुर्याएको थियो ।
९०औं मिनेटपछिको अतिरिक्त समयमा चेल्सीका मार्कोसले गोल गर्दै चेल्सीलाई उत्कृष्ट जीत दिलाएका थिए । यी दुवै टोलीबीच मे २९ मा च्याम्पियन्स लिग फाइनल हुँदैछ । यसैगरी आज बिहान सम्पन्न अर्को खेलमा लिभरपुलले साउथ ह्याम्टनमाथि २(० को सहज जीत हासिल गर्दै अंक तालिकामा टोटनह्यामलाई पछि पार्दै ५७ अंकसहित छैटौं स्थानमा उक्लिएको छ ।
सिटी भने ८० अंकसहित शीर्ष स्थानमा र म्यानचेष्टर युनाइटेड ६७ अंकसहित दोस्रो, चेल्सी ६४ अंकसहित तेस्रो स्थानमा रहेको छ । प्रिमियर लिगका चारवटा खेल आज साँझ खेलिदैछन् ।
प्रतिक्रिया राख्नुहोस्