काठमाडौंमा ८८ शैय्याको आइसोलेसन, उपप्रधानमन्त्री पोखरेलद्वारा निरीक्षण

काठमाडौं– उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौंको बसुन्धारामा संचालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को निरीक्षण गर्नुभएको छ ।

निरीक्षणकै क्रममा उहाँले तत्कालै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र मुख्य सचिव डा. शंकरदास बैरागीलाई टेलिफोन गरी आइसोलेशन केन्द्र सञ्चालन गर्ने प्रबन्ध मिलाउन आग्रह गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यसैसाताबाट नेपाली सेनाले आइसोलेशन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

तत्काल ८८ शैयाको अक्सिजन थेरापी सुविधासहित संचालन हुन लागेको यो आइसोलेशन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो । आवश्यकता अनुसार २ सय बेडसम्म संचालन गर्ने तयारी गरिएको छ । आइसोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ । यो आइसोलेशन केन्द्र संचालनमा आएपछि कोरोनाका बिरामीहरुको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ ।

काठमाडौंमा उपलब्ध ठूला भवनहरुलाई आइसोलेशन केन्द्रका रुपमा संचालन गरी कोरोना संक्रमितहरुको उपचार गर्ने सोच बनाइको सिसिएमसीका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो । निर्धक्क रुपमा बिरामीको उपचारमा लाग्न नेपाली सेनालाई आग्रह गर्दै उहाँले सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेललाई नेपाली सेनाका क्लिनिक रजिष्टार महासेनानी डा. सुमनराज डंगोलले आइसोलेशन केन्द्रको बारेमा जानकारी गराउनुभएको थियो । निरीक्षणका क्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञानमाया डंगोल लगायतको पनि सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.