रोल्पा त्रिवेणीका अग्नि पिडितलाई राहत

नेपाल टेलिभिजनका रोल्पा संवाददाता सम्मानित

रोल्पा-रोल्पाको त्रिवेणी गाउँपालिकामा यही बैशाख १३ गतेदेखि १६ गतेसम्म भएको आगलागिबाट पिडित परिवारले  राहत पाएका छन् ।
अरनिको मावि नुवागाउँमा विहिवार भएको राहत वितरण कार्याक्रममा त्रिवेणी गाउँपालिका वडा नं. २, ३ र ६ का ३६ घरधुरी अग्निपीडितहरुलाई २५ लाख ४० हजार ४ सय ४८ बराबरको नगद तथा जिन्सी सामानको राहत प्याकेज प्रदान गरिएको हो ।

पीडितहरुलाई घरमा चाहिने विभिन्न उपकरण सहितको सुरक्षित बक्स, तार्पुलिन टेण्ट, बेड सेट, एक्स्ट्रा बलाङ्केट, किचेन सामान (प्रेसर कुकर, कराई लगायत), लगाउने कपडाहरु, विद्यार्थीहरुलाई कपि, कलम सहितको झोला र राप्ती समाज युकेले पठाएको प्रतिघर १५ हजार नगद प्रदान गरिएको हो ।

त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीको अध्यक्षता तथा राहत संकलन समितिका संयोजक एवम् समाजसेवी मानबहादुर बुढाको प्रमुख आतिथ्यतामा भएको राहत वितरण कार्यक्रममा प्रति घरपरिवार नगद र जिन्सि गरी ७० हजार ५ सय ६८ रुपैयाँको राहत वितरण गरिएको थियो ।

उक्त राहत गोरखा ग्रुपका अध्यक्ष मानबहादुर बुढा, राप्ती समाज यूकेका सह–कोषाध्यक्ष हरिबहादुर बुढा लगायतको सक्रियतामा संकलन गरिएको हो । राहत सहयोग गर्ने संस्थाहरुमा रोटरी क्लब अफ महाबौद्ध, रोटरी ईन्टरनेशनल ३२९२ नेपाल–भुटान, रोटरी क्लब अफ दरबारमार्ग काठमाण्डौ, रोटरी क्लब अफ काठमाण्डौ मेट्रो, रोटरी क्लब अफ ब्रान्चबर्ग अमेरिका र रोटरी क्लब अफ महाबौद्धको माइक्रो क्रेडिट प्रोग्राम रहेका छन् ।

यस्तै रोटरी क्लब अफ विक्वर्ड ईङ्ल्याण्ड, लुथर वल्र्ड रिलिफ, राप्ती समाज युके, गोरखा ग्रुप प्रालि र त्यसका ७ वटा शाखाहरु गोर्खा पब्लिक हस्पिटल प्रालि, कन्क्वेरिङ ड्रिम्स, मगर समाज सेवा केन्द्र नेपाल, प्रेनिश पुवा अल्लो धागो तथा तयारी पोशाक उद्योग घोराहि दाङ रहेका छन् । समाजसेवी पार्बती बुढाले आफ्ना पति मानबहादुर बुढा मार्फत व्यक्तिगत रुपमा बृद्धा अग्निपीडित पार्बति सेन ठकुरीलाई बाख्रा किन्नको लागि १० हजार नगद समेत प्रदान गर्नुभएको छ ।

राहत वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाले पीडितहरुलाई सहयोग गर्न पाउँदा धेरै खुसी भएको बताउनुभयो । ‘सहयोग भनेको हाम्रो भावना हो’ बुढाले भन्नुभयो ‘तपाईको मुटुलाई छुदा मेरो मुटुलाई छोएन भने म किन मान्छे ।’ तपाईहरुको घर मात्र नभएर मन जलेको छ, बन जलेको त्यसलाई पनि हरियाली बनाउनु छ । यस्तो बेलामा स्थानीय सरकारसँग मिलेर आगामी दिनमा पनि आफूहरु सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

गाउँपालिका अध्यक्ष ओलीले यस्तो विषम परिस्थितिमा पनि राहत सामाग्री लिएर आएको धन्यवाद दिनुभएको थियो । कहिले बम काण्ड कहिले आगलागि जस्ता घटनाले त्रिवेणी पीडामा भएपनि यसलाई शक्तिमा बदल्दै यस्ता घटना आगामी दिनमा हुन नदिन सबैको ध्यानाकर्षण गराउनुभयो । ‘बनमा आगलागि गर्ने व्यक्ति किन पत्ता लाग्दैन’ अध्यक्ष ओलीले भन्नुभयो ‘स्थानीयले कुनै शंका छ भने भन्नुस स्थानीय प्रशासनले किन खोजी गर्दैन ?’

यस्तै गाउँपालिकाकी उपाध्यक्ष सावित्रा बुढाले अग्नि पीडितहरुका लागि गाउँपालिकाले पनि घर बनाउनका लागि २०÷२० हजारका दरले सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभयो । त्रिवेणी गाउँपलिाका–२ का वडाध्यक्ष कबिराज बुढाले अब घर निर्माणमा पनि स्वयम् सेवक खटाएर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि रहनुभएका पूर्व ब्रिटिश लाहुरे तथा राप्ती समाज यूकेका सहकोषाध्यक्ष हरिबहादुर बुढाले आफूले ड्यूटीका क्रममा दुईछै खुट्टा गुमाएर अपाङ्ग भएर पनि धेरै देश घुमेको हिमाल आरोहण गरेको भन्दै पीडितहरुलाई घर मात्र जलेको हो अब फेरी निर्माण गर्न सकिने हौसाला दिनुभयो । राहत संकलन समितिका सहसंयोजक ईश्वरी जिएमले पीडितहरुको पक्षमा निरन्तर लागिरहेकाले घर निर्माण र बाख्रा वितरण समेत गरिने जानकारी गराउनुभयो ।

राहत वितरण कार्यक्रममा गोर्खा हस्पिटल दाङले डाक्टरसहित पीडितहरुका लागि स्वास्थ्य शिविर समेत सञ्चालन गरेको थियो । गाउँपालिकाले राहत संकलनमा सहयोग गर्ने स्वयम् सेवक र सहयोगीदाताहरुलाई प्रशंसा पत्रले सम्मान गरेको थियो ।

नेपाल टेलिभिजनका सम्वाददाता पनि सम्मानित

यसैबीच राहत वितरण कार्यक्रममा आगलागिको निरन्तर रिपोर्टिङ गरी पीडित परिवारहरुको शिघ्र व्यवस्थापन तथा पुनःस्थापनामा योगदान गरेको भन्दै नेपाल टेलिभिजनका रोल्पा सम्वाददाता माधवकुमार ओलीलाई प्रशंसा पत्रले सम्मान समेत गरिएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.