६ सय पत्रकारलाई कोरोना खोप व्यवस्था गर्न प्रतिष्ठान प्रदेश समितिको ध्यानाकर्षण

काठमाडौं– नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले आफू अन्तर्गतका शाखामा कार्यरत ६ सय पत्रकारलाई कोरोनाविरुद्धको खोप व्यवस्था गर्न माग गरेको छ ।

प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारीले आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई मन्त्रालयमा पुगेर ध्यानाकर्षण गराउँदै प्रतिष्ठान प्रदेश अन्र्तगतका ४० शाखासहित ५५ सञ्चार गृहका ६ सय जना पत्रकारलाई खोप लगाउन छुटेकाले उनीहरुलाई प्राथमिकताका साथ खोपको व्यवस्था गर्न ध्यानाकर्षण गराउनुभएको हो । अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको स्वास्थ्य सुरक्षालाई केन्द्रमा राखेर सरकारले प्राथमिकताका साथ यसअघि नै खोपको व्यवस्था गरेकोमा प्रदेश समितिले धन्यवाद दिएको छ ।

अध्यक्ष अधिकारीका अनुसार च्यानल नेपाल प्रतिष्ठानका अध्यक्ष शान्तिराम कार्कीमा आश्रित परिवारको जीवनयापनका लागि आर्थिक सहयोगका साथै रोजगारीको व्यवस्था मिलाइदिन, कोरोना बिरामी भएका पत्रकारहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन, सञ्चार उद्योग र सञ्चारकर्मी दुवैलाई अलग अलग राहत प्याकेज ल्याउन सरकारसँग माग गरिएको छ ।

सूचना विभागले उपलब्ध गराउने प्रेस पास वितरणमा सहजीकरण गरिदिन, महासंघका सबै सदस्यको अनिवार्य स्वास्थ्य बिमाको व्यवस्था मिलाउन, क्यान्सर, मिर्गौलासहित जटिल प्रकारका रोग लागेका पत्रकारको उपचारका लागि कार्यविधि निर्माण गरी रोगका आधारमा उपचारका लागि निश्चित आर्थिक सहयोगको व्यवस्था मिलाउन प्रतिष्ठान प्रदेश समितिले माग गरेको छ ।

प्रदेश समितिले न्यूनतम पारिश्रमिकको कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

शोक व्यक्त
नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले रेडियो नेपाल प्रतिष्ठान शाखाका सदस्य कृष्णप्रसाद ओझाको कोरोना संक्रमणबाट निधन भएकोमा दुःख व्यक्त गरेको छ । प्रदेश समितिका महासचिव रामकुमार शाहीले शोक बक्तव्य जारी गर्दै पत्रकार ओझाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । २०४९ देखि रेडियो नेपालमा कार्यरत ५४ वर्षे ओझाको काठमाडौंको कलंकीस्थित नेसनल अस्पतालमा निधन भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.