एकै दिनमा १७७ जनाले गरे सगरमाथाको सफल आरोहण

काठमाडौं- यो साता एकै दिन १७७ जना आरोहीले सगरमाथाको आरोहण गरेका छन् । आरोहीहरुले मौसममा खरावीका कारण एकै पटक चुचुरो पुग्ने लक्ष राखेपछि एकै दिन धेरै संख्यामा आरोहण भएको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो ।

यो एकै दिन भएको आरोहण धेरै हो । प्राय सय जनासम्म पुग्ने गरेको थियो तर आइतबार १७७ जना आरोहीले सगरमाथाको चुचुरोमा पुगेको श्रेष्ठले बताउनुभयो । चार वर्ष अघि एकै दिन २०० जनासम्म चुचुरो पुगेको रेकर्ड छ । आइतबार बिहान ५ः०० बजेबाट शुरु भएको आरोहण दिउँसो ३ बजेसम्ममा सम्पन्न गरी आरोहीहरु फर्केका थिए ।

१० दिन अघि बहराइनका राजकुमार शेख मोहम्मद हमाल अलिफासहितको टोलीले आरोहण सम्पन्न गरेको थियो भने बाँकी आरोहण जेठ १५ मा मात्र गर्ने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो । सोमबारदेखि हिमपात हुने बढी हावा चल्ने मौसम भएकाले फेरि एक साता आरोहण स्थगित गरेर जेठ १५ मा मात्र आरोहण गर्ने तयारी थालेको एजेन्सीहरुले जनाएका छन् ।

यस वर्ष ४४ आरोहण दलबाट ४०८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएर तयारी अवस्थामा आधार शिविरमा बसेका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहण गर्ने यो आरोहीको सङ्ख्या हालसम्मकै उच्च भएको बताइएको छ ।

आरोहीमध्ये ३१५ पुरुष, ९२ जना महिला र एक जना तेस्रो लिङ्गी आरोही छन् । सगरमाथाबाट मात्र यो सिजनमा ४९ करोड ६१ लाख ३१ हजार ७८७ रुपियाँ राजस्व सङ्कलन भएको विभागको तथ्याङ्क छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.