काँग्रेसका तीन जिम्मेवारी : वरिष्ठ नेता पौडेल

काठमाडौं- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४ औँ महाधिवेशनबारे विकल्प सोच्नुपर्ने बेला आएको बताउनुभएको छ । काठमाडौँस्थित जिल्ला सम्पर्क समितिले आज यहाँ आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानतः पार्टी सङ्कटमा पर्न खोजेको जनाउँदै महाधिवेशनबारे विकल्प सोच्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।

“काँग्रेसलाई अहिले कोरोना सङ्क्रमणबाट जनता बचाउने, लामो सङ्घर्षबाट प्राप्त गरिएको संवैधानिक व्यवस्था बचाउने र सङ्कटमा पर्न लागेको पार्टी बचाउने मुख्य तीन जिम्मेवारी छ,”– उहाँले भन्नुभयो । काँग्रेस नबचेसम्म प्रजातन्त्र र मुलुकको भविष्य बच्न नसक्ने उहाँको भनाई छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको गैरजिम्मेवारपनका कारण अक्सिजन अभावले कोरोना सङ्क्रमितको बिरामी मृत्यु हुनु दुःखद कुरा भएको बताउनुभयो । “वर्तमान सरकारले विश्वासको मत लिन नसकेर राष्ट्रपतिले नयाँ सरकारको आह्वान गरेपछि काँग्रेस नयाँ सरकार निर्माणमा लागेको हो,” उहाँले भन्नुभयो ।

काँग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले कोरोना महामारीको समयमा सरकारले जनताको अभिभावकत्व ग्रहण गर्न नसकेको बताउनुभयो । सांसद अमरेशकुमार सिंहले संविधानको रक्षा गर्ने प्रमुख जिम्मेवारी काँग्रेसको काँधमा आएको बताउनुभयो । काँग्रेस बर्दियाका सभापति सञ्जय गौतमले नेतृत्वमा इच्छाशक्ति भए समयमै पार्टीको महाधिवेशन सम्पन्न गर्न सकिने उल्लेख गर्नुभयो । काँग्रेस ताप्लेजुङका सभापति लिला बोखिम, इलामका सभापति हिमालय कर्माचार्य, नेपाली काँग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीलगायतले समयभित्र पार्टीको महाधिवेशन गर्नुपर्छ भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.