एमाले कार्यदलमा पुनः सुरु भयो छलफल सिलसिला, रावल भन्नुहुन्छ, ‘सकारात्मक छ’

काठमाडौं– आन्तरिक विवादमा फसेको सत्तारुढ नेकपा एमालेको कार्यदल तहमा पुनः छलफल सुरु भएको छ । प्रधानमन्त्रीमा विपक्षी दलका नेता शेरबहादुर देउवाको पक्षमा २३ सांसदले हस्ताक्षर गरेपछि विवाद झन् चर्किएको एमालेमा फेरि छलफल सुरु भएको हो ।
देउवाको पक्षमा हस्ताक्षर बुझाएपछि एमालेको दुईपक्षीय कार्यदलसमेत निष्क्रिय भएको थियो ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालको छलफलपछि पुनः सक्रिय भएको कार्यदलले सोमबारदेखि औपचारिक छलफल सुरु गरेको हो । सोमबार भएको छलफलमा अहिलेसम्म भएका अनौपचारिक छलफलमा भएका सहमतिलाई एकीकृत गरिएको सचिव गोकर्ण विष्टले जानकारी दिनुभयो ।
कार्यदल तहमा मंगलबार पनि छलफल भएको छ । सिंहदरवारमा भएको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले उपाध्यक्ष भीम रावलले संगठनात्मक विषयमा देखिएका समस्या हल गर्नेबारे कुरा भएको जानकारी दिनुभयो । उहाँले बैठक सकारात्मक रहेकोसम्त प्रतिक्रिया दिनुभएको छ ।
बैठक बुधबार पनि बोलाइएको छ ।
सर्वोच्च अदालतको गत फागुन २३ गतेको आदेशपछि एमाले ब्यूँतिए पनि नेपाल पक्षले फागुन २८ गते भएको बैठकका निर्णय सच्याउन र संगठन प्रणालीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन माग गर्दै आएको थियो ।
२०७५ जेठ २ को अवस्थामा गत साता दुई दिन केन्द्रीय कमिटी बैठक बसे पनि नेपाल पक्षले कतिपय संगठनात्मक र राजनीतिक विषयमा विमत्ति राख्दै आएको छ ।






प्रतिक्रिया राख्नुहोस्