सम्झनामा भानुभक्त


पुरुष   एक   पौरुष  गर्ने  तनहुँ   माटोमा
नेपाली सारा  पक्डेर तारा भाषाको बाटोमा
समाती भाव  सरर दौडे  कोसीको पानी झैं
भानुले खोले नेपाली मन आँखाको नानी भै ।।

नेपाली  माटो  उर्वर  भयो  भानुका  कर्मले
रामको   गाथा  भिरेर  देश  उठ्दछ  गर्वले
आदर्श फुल्यो भ्रातृत्व घुल्यो नेपाली मर्मले
एकता जुट्यो विखण्डन फुट्यो भानुका धर्मले ।।

आशक्त कवि  सीताको छवि नेपाली छटामा
रामका   कृति  पुर्याए  उनी शिवत्व  सत्तामा
रणमा  थियो  घाँसीको प्रण  भानुले  चियाए
बुद्धि  र सीप विवेक साँधी  यो  देश  उध्याए ।।

मोतीको साथ उज्यालो ज्योति छरियो संसार
कोइली  कण्ठ रामायणले फड्किन्छे जँघार
पहाड घन्क्यो तराई टल्क्यो प्रश्नोत्तर मालाले
रामको गीता बधुको शिक्षा गाउँछन् शालाले ।।

मनको निब चोबेर छोपे विशृङ्खल संस्कृति
झटारो हाने व्यङ्ग्यले छाने उखेल्न विकृति
कान्तिपुरका  रसिला  ठिटी रमिता प्रकृति
मनको दृष्टि काव्यले पुष्टि रसिला यी कति ।।

नेपाल आमा रहुञ्जेल भानु भानु झैं चम्कन्छन्
साहित्याकाश ढाकेर भानु हात्ती  झैं लम्कन्छन्
को सक्छ टिप्न  भानु प्रकाश ढाकिन्छन् सर्वत्र
बल्दिन्न  शशी नभई  भानु  भानु छन्  स्वतन्त्र ।।

टुक्रेको देश भाषाले जोड्ने लिएर गन्तव्य
सहेर कष्ट  रामायणबाट  पस्किए मन्तव्य
आदर्श गोडी कृतित्व छोड्ने महान  तत्वज्ञ
अमर  सदा  विभूति तिमी छौँ  हामी  कृतज्ञ ।।

सम्भ्रान्त कान्त पाइन्न अन्त भानु झैँ धरामा
लेउ झैँ जमी आसन लिन्छन् मनका सरामा
जाँहुँदि  रहुन्  नेपाली  चुँदि नसम्झी रहन्न्न
पुजिन्छन् भानु जनले पढी व्यर्थमा बहन्नन ।।

छन्द: झ्याउरे [३+२ ,३+२,३+३]

रचनाकार : गणेश प्रसाद दवाडी
ठेगाना     : लेटाङ न .पा .वडा नम्बर ९ (नौ)
मोरङ , प्रदेश -१, बिहानी टोल
इमेल      : dawadiganesh1@gmail.com
मोबाइल नम्बर :  9842075815/9824315487
सर्वाधिकार      : रचनाकारमा

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.