पाँच स्रष्टालाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान

काठमाडौँ- साहित्य सन्ध्याले पाँचजना स्रष्टा तथा व्यक्तित्वलाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान प्रदान गरेको छ।
पद्मकन्या क्याम्पस, बागबजारमा आयोजित ४७९औँ विशेष शृङ्खलामा डा. बिन्दु शर्मा, ओमप्रसाद कोइराला, सान्नानी मिजार, लक्ष्मी तामाङ र गणेशप्रसाद खतिवडालाई विभिन्न विधाका पुरस्कार तथा सम्मान प्रदान गरिएको हो।
कार्यक्रममा साहित्यकार एवं पूर्वमन्त्री प्रदीपकुमार ज्ञवाली, पूर्वमन्त्री एवं साहित्यकार शान्ता मानवी, सन्ध्याका अध्यक्ष राम विनयसहितले ती सम्मान र पुरस्कार प्रदान गर्नुभएको हो ।
सो क्रममा दाङकी साहित्यकार डा शर्माले २१ हजार १०० राशिको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान र ओखलढुङ्गाका साहित्यकार ओमप्रसाद कोइरालाले पाँच हजार राशिको साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान प्राप्त गर्नुभयो । यस्तै सामाजिक रुपान्तरण अभियानकी अभियन्ता तथा जनप्रतिनिधि सान्नानी मिजारलाई १० हजार राशिको साहित्य सन्ध्या-मन पुरस्कार तथा सम्मान प्रदान गरियो ।
त्यसैगरी, नुवाकोट स्थायी घर भई हाल भीमसेनगोला माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत जेहेनदार विद्यार्थी लक्ष्मी तामाङलाई १० हजार राशिको साहित्य सन्ध्या-कृबा (कृष्णचन्द्र-बालकुमारी सत्याल) पुरस्कार तथा सम्मान प्रदान गरियो । सोलुखुम्बु स्थायी ठेगाना भई हाल काठमाडौँ निवासी नियात्राका गणेशप्रसाद खतिवडालाई १० हजार राशिको साहित्य सन्ध्या-हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान अर्पण गरियो ।
पुरस्कार छनोटका लागि प्रा केशव सुवेदीका संयोजत्वमा समिति गठन गरिएको संस्थाका उपाध्यक्ष रमेश पोखरेलले जानकारी दिनुभयो । वि.सं.२०३९ मा स्थापित साहित्य सन्ध्याले हरेक महिनाको पहिलो शनिबार कवि गोष्ठी तथा वैचारिक परिचर्चा कार्यक्रम सञ्चालन गर्दै आएको छ भने स्रष्टालाई सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ ।






प्रतिक्रिया राख्नुहोस्