निर्वाचन आयोगमा पार्टी सनाखतका लागि जसपाका नेताहरुको ‘हेड काउन्ट’ शुरु

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षका नेता कार्यकर्ता पार्टी सनाखतका लागि निर्वाचन आयोग पुग्नुभएको छ ।
आयोगले जसपा आधिकारिकता विवाद निरुपणका लागि एकता भएकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई ‘हेड काउन्ट’ मा बोलाएपछि उहाँहरु आयोग पुग्नुभएको हो ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अहिले पार्टी सनाखत हुने काम भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहान ११ बजेदेखि पार्टी सनाखत हुने काम भइरहेको हो । जसपा अध्यक्ष यादव पक्षका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले यादव पक्षमा बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्य भएको दाबी गर्नुभएको छ ।
अध्यक्ष यादवसहित उहाँका पक्षका अधिकांश नेताहरु निर्वाचन आयोगमा पुग्नुभएको छ । त्यस्तै अर्का अध्यक्ष ठाकुर पक्षका दुई नेता यादव पक्षको लाइनमा उभिनुभएको छ ।
ठाकुर पक्षका नेता राजकिशोर यादव र प्रदेश २ का सांसद मनिष सुमन अन्तिम समयमा यादव पक्षमा लाग्नुभएको छ । जसले गर्दा ठाकुर पक्ष झन् कमजोर बनेको छ ।
पार्टी आकिारिकताको विवाद टुंगो लगाउन आयोगमा उपस्थित हुनुभएको राईले यादव पक्षमा करिब ३० जनाभन्दा बढी कार्यकारिणी समितिका सदस्य रहनुभएको बताउनुभयो ।
जसपा पार्टी आधिकारिकताबारे विवाद भएपछि सुनुवाई गरिरहेको निर्वाचन आयोगले सोमबार बिहान ११ बजे केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई हस्ताक्षर सनाखतका लागि बोलाएको थियाे ।यसविरुद्ध अध्यक्ष ठाकुरले आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएकोमा सर्वोच्च अदालतमा रिट दिनुभएको थियो । तर, सर्वोच्चले आइतबार ठाकुरको मागबमोजिम अन्तरिक आदेश दिएन् ।
सर्वोच्चका न्यायधीश कुमार रेग्मीको इजलासले ठाकुरको मागबमोजिम अन्तरिम आदेश नदिने निर्णय गरेको थियो । आयोगले हस्ताक्षर सनाखत गर्ने भएपछि पार्टी कार्यकारिणी समितिमा ठाकुर पक्ष अल्पमतमा पर्ने देखिएको छ ।
जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ । जसपा २०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सत्ता साझेदारी गर्दा जसपा दुई समूहमा विभाजन भएको थियो । ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो भने यादव पक्ष प्रतिपक्षमा उभिएको थियो ।
पार्टीमा विवाद शुरु भएपछि दुवै पक्षले पार्टी आधिकारिकता दाबी गर्दै आयोगमा पुग्नुभएको थियो । पछिल्लो पटक वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा दुवै पक्षले पक्षमा मतदान गर्ने निर्णय गरेका थिए ।। (गोरखापत्रअनलाइनबाट)






प्रतिक्रिया राख्नुहोस्