पीएसजीसँग मेस्सीको दुई वर्षे सम्झौता, प्रत्येक वर्ष ३५ मिलियन युरो बराबरको पारिश्रमिक पाउने
विश्व फुटबलमा सुपरस्टारका रुपमा चिनिने फुटबल खेलाडी लियोनल मेस्सी यो सिजनमा नयाँ क्लब र नयाँ जर्सीमा देखिने भएका छन् ।
आफ्नो अमूल्य समय बार्सिलोनामा बिताएर सबै ठूला प्रतियोगिता सो क्लबको जर्सीमा जितेका मेस्सीले अबको यात्रा निकै नयाँ तर आफुले चिनेका साथीहरुसँग बिताउनुपर्नेछ ।
उनि मंगलबार पेरिस पुग्ने बेला हजारौं शुभचिन्तकहरुले स्वागत गरेका थिए । बार्सिलोना जाँदा किशोर अवस्थामा गएका मेस्सी पेरिसको पीएसजी पुग्दा श्रीमति र तीन छोरासहित थिए ।
मेस्सीका पिता जोर्ज उनिभन्दा अगाडि नै पेरिस पुगेर पीएसजीसँग दुई वर्षे सम्झौता भएको स्वीकारेका थिए । क्लब र मेस्सीबीच हालका लागि दुई वर्षे सम्झौतामा सहमति भएपनि सम्झौतालाई सन् २०२४ सम्म लम्ब्याउन सक्ने विकल्प रहेको छ । सम्झौता अनुसार मेस्सीले प्रत्येक वर्ष ३५ मिलियन युरो बराबरको पारिश्रमिक प्राप्त गर्नेछन् ।
हाल फुटबल क्लबमा उत्कृष्ट खेलाडीको सुचीमा पर्ने नेयमार, एम्बाप्पेसँग अब मेस्सी पनि सामेल भएपछि विश्वका सबै ध्यान पीएसजीतर्फ तानिएको छ ।
उता भने मेस्सीले बार्सिलोना छाडेसँगै घरेलु मैदान क्याम्पनोउमा रहेको मेस्सीको पोष्टर च्यातिएको छ । ३४ वर्षीय मेस्सीलाई बार्सिलोनाले लालिगाको आर्थिक नियमको आधारमा सम्झौता गर्न नसक्ने बताएपछि बार्सिलोनामा मेस्सी युगको अन्त्य भएको हो ।-
प्रतिक्रिया राख्नुहोस्