बस्तीमै स्वास्थ्य शिविर पुगेपछि राउटे खुशी

दाङ- “देशको शान्तिसुरक्षामा खटिने हाम्रो उपचारका लागि बस्तीमा आउनुभयो, औषधि दिनुभयो, खानका लागि दाल, चामल दिनुभयो हाम्रा जनता खुशी भएका छन्”, राउटेका मुखिया ४५ वर्षीय सूर्यनाराण शाहीले भन्नुभयो । नेपाली सेनाका १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका बाहिनीपति सहायक रथी मदनकुमार केसी र सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवि हुमागाई खतिवडासँग आफ्नै बस्तीमा गरिएको स्वास्थ्य शिविर तथा राहत वितरणपश्चात् कुराकानीका क्रममा राउटेका मुखिया शाहीले सो भावना व्यक्त गर्नुभएको हो ।

“ हामीलाई उपचारका लागि बस्तीमै चिकित्सकसहित औषधि लिएर आउनुभयो, मैले पनि कानको उपचार गराए, तर केहीले उपचार गराउन मानेनन्, मैले सबैलाई भनेको हुँ, तपाईहरुले दिनुभएको औषधि जनता बिरामी भएका बेला दिन्छु, चामल दाल सबैले बाडेर खान्छौँ”, मुखिया शाहीले शिविरमा पुगेको टोली फर्कंन लाग्दा भन्नुभयो ।

नेपाली सेना १९ नम्बर बाहिनी अड्डाीपुर, जिल्ला प्रशासन कार्यालयान, सवुजगणलगायत विभिन्न सरकारी कार्यालयको संयुक्त आयोजनामा राउटे बस्तीमा स्वास्थ्य शिविर राखिएकोे हो । पछिल्लो दुई महिनामा राउटे समुदायका चार जना बिरामी भएर निधन भएपछि प्रशासनले शिविरको आयोजना गरेको हो । शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गराउँदै सुवीन शाहीले आफूलाई केहीसमयदेखि छाती दुख्ने गरेको समस्या चिकित्सकलाई सुनाउनुभयो । जाँच गराइसकेपछि चिकित्सकले औषधि दिए, खाने तरिका सिकाए र पठाए ।

सुरुमा शिविरमा किन जाँच गराउन मान्नुभएन त भन्ने प्रश्नमा उहाँले अहिले नयाँ रोग आएको छ त्यसैको सुई लगाउन आएकी भन्ने डरले जचाउन गइन भन्नुभयो । “पछि सुई लगाउँदैन औषधि चामल, दाल दिन्छन् भनी थाहा पाएँ अनि जचाएँ”,उहाँले भन्नुभयो । केही समयअघि राउटेलाई कोरोना महामारीबाट जोगाउन उनीहरुको समुदायका दुई दर्जन बढीको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो । सोही कारणले उनीहरु अहिले शिविरमार्फत आफूहरुलाई कोरोनाको खोप लगाउन आएँ भन्ने ठानेर सशङ्कित भएका थिए । राउटेका मुखिया उपस्थित भएकाले कोरोना खोप लगाउन नआएको विश्वस्त पारेपछि जाँचमा सहभागी भएका थिए । तर सबैले भने जाँच गर्न मानेन् ।

स्वास्थ्य परीक्षण गराएका राउटेमा छातीमा समस्या, हातखुट्टा चिलाउने, घाउँ, खटिरा, कानमा समस्या रहेको पाएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिनुभयो । चिकित्सकले केही राउटे बालबालिकामा कुपोषण, निमोनियालगायतका समस्या हुनसक्ने भनी राउटे बस्तीमा कर्णाली प्रदेश सरकारले खटाएका दुई जना स्वास्थ्यकर्मीलाई त्यसो भएमा उनीहरुको उपचार गर्न तथा आफूहरुले लगेको औषधि उनीहरुलाई वितरण गर्नका लागि उपलब्धसमेत गराएका छन् । नेपाली सेना, जिल्ला अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली स्वास्थ्य परीक्षणमा संलग्न थिए । प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवि हुमागाई खतिवडाले पछिल्लो समयमा राउटेको मृत्युदर बढेको, वर्षात्का समय उहाँहरु बसोबास गर्ने ठाउँमा पिउने पानीको राम्रो व्यवस्था नभएको र बस्ने स्थानसमेत हिलाम्य भएकाले स्वास्थ्यमा समस्या भएको हुनसक्ने भनी आफू यहाँ आएको बताउनुभयो ।

उहाँले राउटेले परम्परागतरुपमा गरी आएका चाडपर्व खानपिन छोड्न नसक्दा उहाँहरुमा परिर्वतन हुन नसकेको पनि बताउनुभयो । राउटेको बस्तीमा पुग्नुभएका सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग राउटे मुखिया शाहीले आफूहरुलाई सरकारले दिँदै आएको भत्ता दशैँअगावै उपलब्ध गराइदिन माग गर्नुभएको छ । राउटे मुखिया शाहीले सो पैसाबाट दशैँको पूजाका लागि बाख्रा, चामल र लत्ताकपडा किन्नमा खर्च गरिने बताउनुभयो । उहाँले अहिले आफूहरु बसेको ठाउँ राम्रो तथा सुरक्षित नभएको र भत्ता बुझेलगत्तै दैलेखको गुराँसे, जाजरकोट, सुर्खेत या दाङको राम्रो ठाउँमा बस्न जानेसमेत बताउनुभयो ।

कुराकानीका क्रममा सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी रिजालले भत्ता उपलब्ध गराउ पहल गर्ने र त्यसका लागि छिटै सुर्खेत बोलाउने राउटेका मुखिया शाहीलाई भन्नुभयो । बाहिनीपति सहायक रथी केसीले राउटेको स्वास्थ्य उपचार र केही राहत प्रदान गर्न आफूहरु चिकित्सक, औषधि र खाद्यान्न सामग्री लिएर यहाँ आएको बताउनुभयो । राउटेको सीप, परिश्रम तथा मेहनतको सधैँ सम्मान हुनुपर्ने र यो जातिको संरक्षण तथा परिवर्तनका लागि नयाँ पुस्तालाई शिक्षामा जोड दिने, स्वास्थ्य तथा सरफाइमा ध्यान दिनुपर्ने उहाँको धारणा छ ।

उहाँहरुले आफ्ना संस्कार तथा संस्कृतिलाई केही परिर्वतन गरी आफ्ना नयाँ पुस्तालाई शिक्षामा जोड दिनसके राम्रो हुने बताउनुभयो । सवुज गण सल्यानका गणपति कञ्चन कृष्ण बस्नेतले राउटेको मृत्युदर बढ्न थालेपछि त्यसलाई रोक्न तथा राउटेलाई स्वास्थ्य राख्न संयुक्त शिविरको आयोजना गरेको बताउनुभयो ।

दाङ र सल्यानको सिमानामा पर्ने कालीमाटीको काल्चेमा बस्दै आएका राउटेलाई लक्षित गरी सोही ठाउँमा शिविर आयोजना गरिएको हो । शुक्रबार राति सात वर्षीया राउटे बालिकाको मृत्यु भएपछि उनीहरु सो ठाउँ छाडेर सल्यान र सुर्खेत जिल्लाको सिमानमा पर्ने सुर्खेतको गुर्वाकोट नगरपालिका– १ मा बस्दै आएका छन् । वर्षाद्को समय त्यसमा पनि भदौरे झरीले गर्दा गत शनिबार गरिएको शिविरको सन्दर्भमा उनीहरुको बस्तीमा पुग्दा निकै कष्टकर जीवनयापन देखिन्थ्यो । भर्खरै बसाइँ सरेर आएको ठाउँ भएका कारण केही राउटे आफ्ना पालले छाएका घरभित्र जमिन मिलाउन व्यस्त दखिन्थे । राउटे महिला भने भाँडाकँुडा मिलाउन, सरसफाइ गर्न, चुलो मिलाउने काममा जुटेका थिए । कूल ४६ घरपरिवार रहेका राउटेको कूल सङ्ख्या १४२ छ । कुनै पनि परिवारको एक जना सदस्यको मृत्यु भएपछि उनीहरु सो ठाउँमा छाडेर अन्यन्त्र बसाइँसराइ गरी जाने गर्दछन् । लोपोन्मुख जातिका रुपमा चिनिने राउटेलाई जीवनयापनका लागि प्रदेश सरकारले रु दुई हजार र सङ्घीय सरकारले रु तीन हजार गरी मासिक रु पाँच भत्ता प्रदान गरिदै आएको छ ।

नेपाली सेना १९ नम्बर बाहिनी अड्डा तुलसीपुर र नेपाली सेनाको सवुज गण सल्यानले राउटे बस्तीमा गरिएको स्वास्थ्य शिविरमा उनीहरुलाई खाद्यान्न वितरण गरिएको छ । सहायक रथी केसी र सवुजगणका गणपति प्रमुख सेनानी कञ्चनकृष्ण बस्नेतले राउटेका मुखिया सूर्यनारायण शाहीलाई समुदायमा खाद्यान्न वितरणका लागि सामग्री हस्तान्तरण गर्नुभएको हो । सेनाले एक हजार केजी चामल, ३०० केजी दाल, २०० केजी चिउरा, ५० केजी नुन, गेडागुडी, बिस्कुट, साबुनलगायतका खाद्य सामग्री प्रदान गरेको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.