नेपाल विरुद्धको खेल प्रतिस्पर्धी हुने भारतीय प्रशिक्षकको अपेक्षा

काठमाडौं- भारतीय फुटबल टोलीका प्रमुख प्रशिक्षक इगोर स्टिम्याकले नेपाल बिरुद्धको मैत्रीपूर्ण खेल प्रतिस्पर्धी हुने अपेक्षा गर्नुभएको छ । विश्वकप छनोटको पछिल्लो खेलमा नेपालले गरेको प्रदर्शनको आधारमा उहाँले मैत्रीपूर्ण खेल प्रतिस्पर्धी हुने अपेक्षा गरेको बताउनुभएको छ ।

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलको पूर्ब सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रमुख प्रशिक्षक स्टिम्याकले भन्नुभयो, “युवा खेलाडीलाई लिएर नेपालले राम्रो खेल खेलेको छ, हामीले गृहकार्य गरेका छौं र प्रतिस्पर्धी खेलको अपेक्षा राखेका छौं ।” उहाँले नेपाल बिरुद्धको खेल साफ च्याम्पियनसिपका लागि राम्रो तयारी हुने बताउनुभयो ।

भारतीय फुटबल टोलिका कप्तान सुनिल क्षेत्रीले प्रमुख प्रशिक्षक स्टिम्याकको भनाईमा सहमति जनाउनुहुँदै नेपाल विरुद्ध उसको घरेलु मैदानमा खेल्नु चुनौतीपूर्ण हुने धारणा राख्नुभयो ।

नेपाली फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले नेपाल जित्नका लागि खेल्ने बताउनुहुँदै दर्शक गौरवान्वित महसुस हुने खेल पस्किने बताउनुभयो । उहाँले भन्नुभयो, “भारत एक सशक्त टोलि हो, हामीले दुई पटक मात्रै जित्न सकेका छौं, तर उक्त तथ्यले कुनै ठूलो मतलब राख्दैन, हामी जित्नलाई खेल्नेछौं ।”
अलमुतैरीले मुख्य ध्येय साफ च्याम्पियनशीप रहेपनि भारत विरुद्धको खेल नेपाली टोलिको प्रदर्शनको मापक हुने धारणा राख्नुभयो ।

कप्तान किरणकुमार लिम्बूले भने दुई महिनाभन्दा बढी समयदेखि तयारीमा रहेको बताउनुहुँदै जित्नका लागि आफूहरु खेल्ने र प्रशंसकलाई गौरवान्वित तुल्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रशिक्षकले हामीले खेलको कौशल मात्रै सिकाएका छैनन् बरु मानसिक र शारीरिक रुपमा समेत तयार बनाएका छन् ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.