कोरोना नियन्त्रणका लागि दक्षिणपूर्वी एसियाली देशहरूबीच सहकार्य आवश्यक-प्रम देउवा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी रोक्न एक देशको प्रयासले मात्र सम्भव नहुने बताउनुभएको छ ।

प्रधानमन्त्रीले कोरोना भाइरस नियन्त्रण गर्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्तरबाट सबैको सहयोग र सहकार्य आवश्यक छ भन्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी एसियाली राष्ट्रको ७४औँ क्षेत्रीय समिति बैठक शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले स्वास्थ्य प्रणालीले अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा क्षमताभन्दा बढी भार थेग्नु परेको चर्चा गर्नुभयो । उहाँले हालको अवस्थामा दक्षिणपूर्वी एसियाली क्षेत्रका मानिसको स्वास्थ्य अवस्थामा सुधार ल्याउन बैठकले महत्त्वपूर्ण निर्णय लिनेछ भन्नुभयो ।

प्रधानमन्त्री देउवाले मानवताका लागि नेपालले खोप, औषधि, उपकरण तथा प्रविधिमा समतामूलक पहुँच सुनिश्चित गर्नुपर्ने भन्दै स्वास्थ्य पहुँच नपुगेकालाई नेपालले प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि दक्षिणपूर्वी एसियाली देशहरूबीच सहकार्य आवश्यक भएको बताउनुभयो । उहाँले कोरोना महामारीले मानिसको जीवन, जनस्वास्थ्य तथा सामाजिक सुरक्षामा असर पारेको बताउनुभयो ।

क्षेत्रीय बैठकको अध्यक्षता प्रधानमन्त्री देउवाले गर्नुभएको छ । सोमबारबाट सुरु भएको बैठक पाँच दिनसम्म सञ्चालन हुनेछ । बैठक नेपालको आयोजनामा भएको हो ।

बैठकलाई सम्बोधन गर्दै विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेद्रोस अधानोम घेब्रेसियसले कोरोना महामारीले अझै पनि मानिसको जीवन सञ्चालनमा क्षति पु-याइरहेको बताउनुभयो । उहाँले मानिसको जीविकोपार्जन, समाज तथा अर्थतन्त्रमा क्षति पुर्‍याइरहेको भन्दै दक्षिणपूर्वी क्षेत्रमा गत मे महिनामा विनाशकारी रूपमै सङ्क्रमितको सङ्ख्या बढेको जानकारी दिनुभयो । उहाँले हाल सङ्क्रमित तथा मृत्युको सङ्ख्यामा कमी आएको भन्दै यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताउनुभयो ।

कोरोना भाइरसको हरेक देशमा फरक–फरक अवस्था देखा परिरहेको भन्दै उहाँले केही स्थानमा तीव्र सङ्ख्यामा सङ्क्रमण वृद्धि भइरहेको र अस्पताल भरिएको अवस्थामा रहेको जानकारी दिनुुभयो । भविष्यमा फेरि कोरोना भाइरसजस्ता ठूला महामारी हुन दिन नहुने उहाँको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपालले कोरोनाले समग्र स्वास्थ्य प्रणालीमा ठूलो क्षति पु-याएको बताउनुभयो । उहाँले अझै स्वास्थ्य सेवा अवरुद्ध भएको भन्दै स्वास्थ्यकर्मी पनि गलेको बताउनुभयो ।
उहाँले स्वास्थ्यमा गुमाएका उपलब्धिहरूलाई पुनः प्राप्त गर्नुपर्ने बताउनुभयो । उहाँले क्षमता गुमाएका स्वास्थ्य प्रणालीहरूको पुनर्निर्माण गर्नुपर्ने बताउनुभयो ।

दक्षिणपूर्वी एसियाका स्वास्थ्यमन्त्री तथा स्वास्थ्यका उच्च पदाधिकारी, संयुक्त राष्ट्रसङ्घका निकाय, साझेदार, दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहने बैठक पाँच दिन चल्नेछ ।
बैठकमा जनस्वास्थ्य आपत्कालको तयारी तथा प्रतिकार्यको सुदृढीकरण कसरी गर्ने तथा नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा भएको प्रगतिबारे छलफल हुनेछ ।

यस्तै खोपको कार्ययोजनाका लागि क्षेत्रीय खाका, विद्यालय स्वास्थ्यको पुनरुत्थान र भाइरल हेपाटाइटिस, एचआईभी तथा यौनजन्य सङ्क्रमणको अन्त्यजस्ता विषयमा पनि छलफल हुनेछ ।

यसैगरी क्षेत्रीय समितिको गत बैठकमा गरिएका प्रतिबद्धताहरूमाथि पनि छलफल हुनेछ ।।( गोरखापत्रअनलाइनबाट)

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.