थारू समुदायले ‘अट्वारी पर्व’ मनाउँदै

थारू समुदायले आज ‘अट्वारी पर्व ’ धुमधामका साथ मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने ती समुदायले माघीपछिको ठूलो पर्वका रुपमा यसलाई मनाउने गर्दछन् । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको सो पर्व तीजपछिको पहिलो आइतबारमा व्रत बस्ने र सोमबार सकिने गर्दछ ।

थारू सस्ंकृतिविद् अशोक थारूका अनुसार उनीहरुले पर्वको पहिलो रात दर (भिन्सर्‍या भाट) खाने गर्दछन् । दरमा भात, माछा चोखो तरिकाले पकाइन्छ र भाले नबास्दै उठेर दर खाने प्रचलन छ । यसपछिको दोस्रो दिन प्रायः पुरुष र इच्छा भएका महिला व्रत बस्छन् ।

परम्परागत रुपमा मनाइँदै आएको पर्व आइतबारका दिन मनाउने भएकाले ‘अट्वारी’ भन्ने गरिएको हो । “यो थारूहरुको माघिपछिको ठूलो पर्व हो”, थारू कल्याणकारीसभाका अध्यक्ष भुवन चौधरीले भन्नुभयो ।

आइतबार दिनभरि व्रत बसेर दाजुभाइले साँझ पूजापाठ गरेर फलफूल र अनदीको रोटी खाने गर्दछन् । बर्तालुले फलफूललगायतका परिकार खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ ।

यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीका रूपमा उपहार दिने चलन छ । जिल्ला स्थानीय तहले आज पर्वका अवसरमा बिदा दिएका छन् । घोराही तुलसीपुर उपमहानगरपालिका सहित राप्ती, दङ्गीशरण, गढवा गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.