शिक्षा प्रणालीको विकासमा सामूदायिक विद्यालयको प्रशंसनीय कार्यः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सामुदायिक विद्यालयले पनि भिन्न क्षमता भएका विद्यार्थीहरुलाई उच्च गुणस्तरीय शिक्षा प्रदान गरी नेपालको शिक्षा प्रणालीको विकास गरेको बताउनु भएको छ ।

२०७२ सालको भुकम्पले क्षति पुर्‍याएको ललितपुरको लगनखेलस्थित नमूना मच्छिन्द्र माध्यमिक विद्यालयको पुनः निर्माण सम्पन्नपछि बिद्यालयको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री देउवाले जापान सरकारले जाइका मार्फत नेपालको विभिन्न क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगको प्रशंसासमेत गर्नुभयो । उहाँले भूकम्पबाट प्रभावित अधिकांश विद्यालय भवनहरुको पुनः निर्माण सम्पन्न भएको बताउनुभयो ।

कर्यक्रममा ऊर्जा जल श्रोत तथा सिँचाइ मन्त्री पम्फा भूसालले भूकम्पका कारण क्षति पुगेका २ सय ७४ विद्यालय मध्ये २ सय २७ वटा विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको र बाँकी विद्यालयको पुनर्निर्माण पनि छिट्टै हुने बताउनुभयो ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले पुनः निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताउनुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरकै जेठो स्कुलका रुपमा रहेको नमूना मच्छिन्द्र स्कुलले धेरै विद्यार्थीहरुको भविष्य बनाइसकेको बताउनुभयो ।

२००८ सालमा स्थापना भएको सो बिद्यालय पुनः निर्माणकालागि राष्ट्रिय पुनः निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई, जापान सरकारको ऋण सहयोगमा निर्माण सम्पन्न गरिएको हो ।

१२ करोड ३० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको उक्त विद्यालयमा सबै सुविधा सम्पन्न १८ वटा कक्षा कोठा, र एउटा दृष्टिविहीनहरुका लागि अध्ययन गर्ने ब्लक र आवश्यक पूर्वाधारहरु रहेका छन् । ९ सय ७२ जना अध्ययनरत यस विद्यालयमा २०४७ सालदेखि विशेष शिक्षा सञ्चालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक राधाकृष्ण महतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.