विस्तारै लय समात्दै धुलिखेलका होटलहरु

काभ्रे- कोरोना भाइरस संक्रमण प्रभावका कारण लामो समयसम्म बन्द रहेको होटल व्यवसाय संक्रमण दर कम भएसँगै काभ्रेको पर्यटकीय क्षेत्र धुलिखेलका होटलहरु विस्तारै सञ्चालन गर्न थालेका छन् ।

जिल्लामा रहेको ठुला तथा मझौला खालका होटल व्यवसायहरु सञ्चालनमा आएसंगै आन्तरिक पर्यटकहरुको चहलपहल पनि बढ्न थालेका हुन् ।

धुलिखेल होटलहरुमध्यको पुरानो होटल धुलिखेल नगरपालिका वडा नं. ३ धुलिखेलमा रहेको होटल मिरावेल रिसार्टका दिपक थापाले कोभिड संक्रमणपछि सञ्चालनमा आएको होटल मिरावेल सिरोर्टले आन्तरिक पर्यटकहरुका लागि सेवा सुविधा थप्नुका साथै शुल्कमा पहिलाको भन्दा २० देखि २५ प्रतिशतसम्म कम गरेर नयाँ प्याकेज ल्याएको बताउनुभयो ।

सञ्चालनमा आएको दूई महिनापछि नै कोरोना भाइरस संक्रमणको पहिलो लहरको प्रभावका कारण बन्द रहेको बनेपा नगरपालिका वडा नं. ६ धुलिखेलस्थित हिमालय दृश्य रिसोर्ट अहिले पुनःसञ्चालनमा आएको छ । होटलमा अहिले संघ÷संस्थाका कार्यक्रमहरु, आन्तरिक रुपमा घुम्नका लागि आउनेहरुका साथै पारिवारिक रुपमा पनि बाहिर घुम्नका लागि आउने गरेका पर्यटकहरुको संख्या विस्तारै बढ्न थालेको होटलका फ्रन्ट अफिस म्यानेजर अशोक बडालले बताउनुभयो ।

धुलिखेल नगरपालिका वडा नं. ८ भट्टेडाँडामा रहेको होटल सारथीमा पनि पछिल्लो समयमा आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दै गएको छ । होटलका सञ्चालन प्रल्हाद प्याकुरेलका अनुसार कोभिडले सबैभन्दा बढी प्रभावित बनाएको होटल क्षेत्र संक्रमण दर कम हुँदै गएपछि विस्तारै आफ्नो सेवाको गतिलाई बढाउँदै लैजाने तयारीमा रहेको छ ।

शुक्रवार र शनिवार बाहेक अरु दिन पनि चहलपलह बढ्न थालेपछि पर्यटकीयस्थल धुलिखेलमा पर्यटकीय चहलपहल पनि बढ्न थालेको होटल व्यवसायही बताउँछन् । पर्यटकीय क्षेत्रको रुपमा विकास भएको धुलिखेल पर्यटकीय क्षेत्रमा ‘नेपाल भ्रमण बर्ष सन् २०२०’ को अवसरमा सरकारी, गैह्रसरकारी क्षेत्र र नीजि क्षेत्रहरुसंगको सहकार्यमा विभिन्न गतिविधिहरु अगाडी बढिरहेको वेलामा त्यसले थप गति प्रदान गरिरहेकै वेला कोभिड–१९ को संक्रमण प्रभावका कारण सबैभन्दा बढी पर्यटन क्षेत्र भयो र त्यो बीचमा सबै कामदार र कर्मचारीहरु बेरोजगार हुने अवस्था सिर्जना भएकोमा अब विस्तारै पुरानै लयमा फर्कन थालेको बताएका छन् ।

पछिल्लो समयमा सरकारले होटल क्षेत्रमा काम गर्ने कर्मचारीहरुका लागि खोप लगाउन शुरु गरेपनि अझै सहुलियत दिने भन्ने कुराहरु सञ्चारमाध्यममा मात्रै आउने देखेको तर वास्तविक रुपमा पाएको महसुश भने गर्न नपाएको व्यवसायीहरुको गुनासो छ ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा मात्रै साना–ठुला गरी करिब ६५-७० वटा होटलहरु सञ्चालनमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.