दसैँ भित्रिएसँगै बजारसँगै गाउँघरमा बढ्दै चहलपहल

भोजपुर– दसैँ नजिकिएसँगै भोजपुर सदरमुकामसहित जिल्लाका विभिन्न बजारमा चहलपहल बढेको छ ।
दसैँका लागि आवश्यक सामग्री खरिद गर्न गाउँगाउँबाट सर्वसाधारण बजार आउन थालेपछि बजारमा भीड बढ्नुका साथै व्यापारिक गतिविधि चलायमान भएको हो ।
दसैँ मनाउन आवश्यक पर्ने लत्ताकपडा, खाद्यान्न तथा घरायसी सामग्री खरिद गर्न ग्रामीण क्षेत्रबाट सर्वसाधारण सदरमुकाम आउन थालेका हुन् ।
लामो समयदेखि रोजगारी, अध्ययन तथा अन्य कामका सिलसिलामा जिल्ला बाहिर रहेका मानिससमेत चाडपर्व मनाउन घर फर्कन थालेपछि बजार र यातायातमा चहलपहल बढेको हो ।
यात्रुको चाप बढेसँगै जिल्लाका सात स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।
चाडपर्वका समयमा यात्रुलाई सहज आवागमनको व्यवस्था मिलाउन तथा हुनसक्ने समस्यामा सहजीकरण गर्न सहायता कक्ष सञ्चालन गरिएको छ । बजारमा चहलपहल बढेसँगै व्यापारीलाई पनि भ्याइनभ्याइ छ । दसैँलाई लक्षित गरी पसलमा नयाँ सामान राख्ने, पसल सजाउने तथा ग्राहक आकर्षित गर्ने तयारी गरिएको छ ।
खाद्यान्न, लत्ताकपडा, जुत्ताचप्पललगायतका सामग्री खरिद गर्ने ग्राहकको चाप बढ्न थालेको व्यापारीले बताएका छन् । दसैँ मनाउन घर फर्कनेको सङ्ख्या बढेसँगै सार्वजनिक यातायातमा समेत यात्रुको चाप बढेको छ ।
भोजपुर सदरमुकामसँगै टक्सार, दिङ्ला तथा हतुवागढीलगायतका स्थानीय बजारमा पनि चहलपहल बढेको छ । दसैँको तयारीस्वरूप घरआँगन सफा गर्ने, पिङ बनाउर्ने क्रम बढेसँगै गाउँबस्तीमा समेत चाडपर्वको रौनक थपिएको छ ।






प्रतिक्रिया राख्नुहोस्