एकै परिवारका ४ जनाको निस्सासिएर मृत्यु, ३ जनाको अवस्था गम्भीर

बाँके- नेपालगञ्जमा एकै परिवारका ४ जनाको निस्सासिएर मृत्यु भएको छ भने ३ जना गम्भीर अवस्थामा भेटिएका छन् ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय खरिद तथा आपूर्ति शाखा हाल नेपालगञ्जमा कार्यालय सहयोगी तथा लोडर प्याकरको रुपमा कार्यरत कालिकोट खांडचक्र–६ निवासी २३ वर्षिय धर्मप्रसाद भट्टराईसहित ४ जनाको मृत्यु भएको हो ।

भेरी अस्पताल परिसरमा रहेको मृतक भट्टराईको क्‍वाटरमा सुतेका ७ जना मध्ये ४ जना बिहिबार बिहान मृत्यु अवस्थामा भेटिएका छन भने ३ जना बेहोसी अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सह प्रवक्ता समेत रहनुभएका प्रहरी निरिक्षक खिमबहादुर घर्ति मगरले जानकारी दिनुभयो ।

सो घटनामा परेर मृत्यु हुनेमा निजको ३ महिनाको छोरा इप्सन भटटराई, आमा ४५ बर्षिय कोकीला भटटराई, २७ वर्षीय दिदी नन्दकली भटराईको मृत्यु अवस्थामा भेटिएको उहाँले जानकारी दिनुभयो ।

घटनामा परेर गम्भीर अवस्थामा रहेका २४ वर्षिया सुशिला भट्टराई, ३ वर्षिय दिवश भट्टराई र १८ वर्षिय नरेन्द्र भट्टराईको भेरी अस्पतालको सघन कक्षमा उपचार भईरहेको छ ।

सुशीला मृतक भट्टराईकी श्रीमति, नरेन्द्र भाई र दिवश छोरा हुन । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर कुकुर सहितको टिमले अनुसन्धान गर्दा टिनको बाकसमा कोईला बालेर सकिएको अवस्थामा भेटिएको पाईएको प्रहरी निरिक्षक घर्तीमगरले जानकारी दिनुभयो ।

हिजो बिहानैदेखि परेको झरीका कारण जाडो बढे सगै कोइला बालेर एकै कोठामा ७ जना सुतेकोमा कार्वन मोनो अक्साईड जस्तो ग्यासका कारण स्वाश प्रस्वासमा समस्या भई निशासिएर मृत्यु भएको हुनसक्ने भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसिएन तथा मेडिसिन विभाग प्रमुख डा राजन पाण्डेले जानकारी दिनुभयो ।

उहाँले उपचारमा रहेका ३ मध्ये एकको अवस्था अलि गम्भीर रहेको र तीनै जनालाई भेरी अस्पतालको सघन कक्षमा राखेर उपचार सुरु गरेको जानकारी दिनुभयो ।

कर्णाली प्रदेशको मेडिकल स्टोरमा तापक्रम यथावत राख्नको लागि जेनेटर चलाई राख्नु पर्ने अवस्था रहेको र बिहीबार बिहान साढे ५ बजेतिर मृतक भट्टराईलाई तेल राख्नको लागि फोन गर्दा नउठेपछि क्वाटरमा जाँदा गम्भीर अवस्थामा रहेकी श्रीमतिले ढोका खोलेपछि घटना बाहिर आएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.