दोस्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि तामाङलाई
तनहुँ-तनहुँको ऋषिङ गाउँपालिकाले आज आयोजना गरेको दोस्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि तीर्थराज तामाङले जित्नुभएको छ । ४२ किमी दूरीको म्याराथन दुई घण्टा ५१ मिनेट २५ सेकेन्डमा पार गर्दै त्रिभुवन आर्मी क्लबका तामाङले म्याराथनको उपाधि जित्नुभएको हो ।
प्रतियोगितामा देवराज महतारा द्वितीय हुनुभएको छ । उहाँले उक्त दूरी दुई घण्टा ५४ मिनेट २५ सेकेन्डमा पूरा गर्नुभयो । प्रतियोगितामा सोलुखुम्बुका सुमन कुलुङ राई तृतीय हुनुभएको छ । उहाँले उक्त दूरी तीन घण्टा पाँच मिनेट ४६ सेकेन्डमा पार गर्नुभयो । सान्त्वना हुनुभएका तेह्रथुमका प्रताप खड्काले उक्त दूरी तीन घन्टा १० मिनेट ४५ सेकेन्डमा पार गर्नुभयो । खुल्लातर्फको म्याराथनमा ४९ धावकको सहभागिता थियो ।
धारुङ भञ्ज्याङबाट सुरु हुने दौड रानीपोखरी गाउँपालिकाको कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ, पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, चालिसे, भिरकोट, अर्चल्दी, मौरीबास, दाङसिरी, दुवुङकोट पुगेर टुङ्गिएको थियो ।
खुल्लातर्फ प्रथम हुनेलाई रु ६५ हजार, द्वितीय हुनेलाई रु ४० हजार, तृतीय हुनेलाई रु २५ हजार र सान्त्वना हुनेलाई रु १० हजार प्रदान गरिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो ।
महिलातर्फको चार किमी दौडमा सीता रानाभाट प्रथम, यमुना थापा द्वितीय, सुस्मिता रानाभाट तृतीय र विष्णु परियार सान्त्वना हुनुभएको छ । महिलातर्फ प्रथम हुनेलाई रु १० हजार, द्वितीय हुनेलाई रु आठ हजार, तृतीय हुनेलाई रु पाँच हजार र सान्त्वना हुने एक जनालाई रु दुई हजार पुरस्कार प्रदान गरिएको छ ।
गत वर्ष आयोजित प्रथम ऋषिङ म्याराथनको उपाधि जुम्लाका राजन रोकायाले जित्नुभएको थियो । प्रतियोगितामा डोटीका नवराज साउद द्वितीय, सोलुखुम्बुका सुमन कुलुङ राई तृतीय र कालीकोटका देवराज महतारा चौथो हुनुभएको थियो ।।
प्रतिक्रिया राख्नुहोस्