यातायात महासङ्घको महाधिवेशन आइतबारदेखि

काठमाडौं- देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको छैटौँ राष्ट्रिय महाधिवेशन आगामी चैत २७ देखि २९ गतेसम्म हुने भएको छ ।

कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको महाधिवेशन आइतबारदेखि काठमाडौँमा हुन लागेको हो । महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक एवं महासङ्घका महासचिव सरोज सिटौलाले महाधिवेशनको उद्घाटन काठमाडौँ रामशाहपथस्थित स्काइ दरबार बैंक्वेटमा तथा बन्दसत्र र निर्वाचनको कार्यक्रम भने ललितपुरको गोदावरीमा गर्ने गरी तयारी थालिएको जानकारी दिनुभयो ।

महाधिवेशनमा देशभरका सातै प्रदेशका यातायातमन्त्रीलाई समेत आमन्त्रण गरिएको छ । महासङ्घमा हाल देशभरका झण्डै ५०० यातायात कम्पनी आवद्ध छन् । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले महाधिवेशनमा देशभरबाट एक हजार ५०० भन्दा बढी प्रतिनिधि एवं पर्यवेक्षक सहभागी हुने बताउनुभयो । महासङ्घको महाधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने छ । महासङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशन २०७४ माघमा चितवनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.