पत्रकार धमलालाई प्रेस काउन्सिलले आचारसंहिता कक्षामा राखेर सचेत गरायो

काठमाडौं- प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलाले आचारसंहिता उल्लङ्घन गरेको निष्कर्षसहित सचेत गराएको छ । आउँदा दिनमा पेशागत आचरणसहित आचारसंहिता पालना गर्नका लागि काउन्सिलले शुक्रबार सचेत गराएको हो ।

विमानस्थलमा जबर्जस्ती प्रवेश गरी लाइभ गरेको, नेपाल बार एशोसिएसनको बैठकमा समेत गैर पेशागत आचरण देखाएको भन्दै काउन्सिलले यस्तो कारबाही गरेको हो । साथै काउन्सिलले धमलालाई पत्रकार आचारसंहिता अभिमुखीकरण कक्षामा समेत शुक्रबार सहभागी गराएको छ ।

दुई दिन अघि काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको आचारसंहिता अनुगमन उपसमितिको बैठकले धमलालाई सचेत गराउने र अभिमुखीकरण कक्षा लिन लगाउने निर्णय गरेको थियो । शुक्रबार सञ्चालन गर्ने ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ मा धमला सहभागी भई पत्रकार आचारसंहिताबारे थप जानकारी लिनुभएको हो ।

काउन्सिलले अनलाइन दर्ताअघि सञ्चालक, सम्पादक र प्रतिनिधिले अनिवार्यरूपमा अभिमुखीकरणमा सहभागी गर्ने गरेको यस कार्यक्रममा धमलाले पत्रकार आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरे अनुरूप सहभागिता जनाउनुभएको हो ।

यसअघि पत्रकार धमलालाई प्रधानमन्त्री चढेको नेपाल एयरलाइन्सको विमानभित्र उद्दण्डता गरेको विषयमा काउन्सिलको आचारसंहिता अनुगमन समितिले छलफलको लागि बोलाएको थियो ।

काउन्सिलको सभाहलमा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष एवं विषय विज्ञ तारानाथ दाहालले पत्रकारले गर्न हुने र नहुने बुँदाबारे प्रकाश पार्नुहुँदै आचारसंहिता पत्रकारकै हितको लागि बनेकाले यस पुर्ण पालनाबाट मात्रै स्वच्छ पत्रकारिताको विकास हुने बताउनुभयो ।

काउन्सिलका बोर्ड सदस्य एवं विषय विज्ञ गोपाल बुढाथोकीले काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकाहरूबारे प्रकाश पार्नुभयो ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले आचारसंहिताको अभिमुखिकरणलाई प्रभावकारी बनाउँदै लगिने र पत्रकारिताको विकासका लागि सबैले यसलाई पालना गर्नुपर्ने धारणा राख्नुभएको थियो । उहाँले नयाँ अनलाइन सूचीकरण गर्दा र आचारसंहिता उल्लंघनका घट्नामा अनिवार्य आचारसंहिता अभिमुखीकरणमा सामेल हुनुपर्ने अभ्यासले सचेतना बढ्ने विश्वासका कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल, उपप्रशासकीय अधिकृत रामशरण बोहरालगायत विभिन्न नयाँ अनलाइन सञ्चार माध्यमका सञ्चालक/सम्पादकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.