गोरखामा चुनावी गठबन्धन भत्कियो : एक्लै चुनाव लड्ने कांग्रेसको निर्णय

गोरखा– नेपाली कांग्रेस गोरखाले आगामी स्थानीय तह चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको जिल्ला कार्यसमितिको आकस्मिक बैठकले सत्ता गठबन्धनका कुनै पनि दलसँग तालमेल नगर्ने निर्णय गरेको हो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सभापति नन्द प्रसाद न्यौपानेले ८ पटकसम्म बसेको गठबन्धन संयन्त्रको बैठकबाट सहमति जुट्न नसकेपछि एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धनका केही राजनीतिक दलको महत्वकाँक्षा र राजनीतिक अपरिपक्वताका कारण गठबन्धन जोगाइराख्ने अवस्था अन्त्य भएको दुखका साथ जानकारी गराउँछु ।’

२०७४ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेसले जिल्लाका ११ पालिकामध्ये ९ पालिकाको प्रमुख जितेको थियो । अहिले सहमतिका लागि यसअघि जितेका पालिकाको प्रमुख पदको दाबी छोड्दा समेत सहमति बन्न नसकेको सभापति न्यौपानेको भनाई छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी सहमतिका लागि लचिलो बने पनि जनता सामाजवादी पार्टीले भने कम्तिमा २ वटा पालिकाको प्रमुख पाउनु पर्ने अडान नछोडेपछि सत्ता गठबन्धन बनाएर स्थानीय तह चुनावमा जाने सम्भावना सकिएको उहाँले बताउनुभयो । ‘जिल्लामा हाम्रो संगठनको तागत र बल अनि पार्टीका साथीहरुको मनोभावना समेत बुझेर एक्लै चुनावी प्रतिस्पर्धामा जाने निर्णय गरिएको हो, केन्द्रले पनि मित्रवत प्रतिस्पर्धा गर्न सक्ने भनेको छ,’ सभापति न्यौपानेले भन्नुभयो, ‘गठबन्धन वा गठबन्धन बाहिरका कुनै पनि दलसँग अब तालमेल हुँदैन तर संवादको ढोका भने बन्द गरिएको छैन ।’

जिल्लाका ११ वटै पालिका र ९४ वटै वडामा एकल प्रतिस्पर्धा गर्ने जिल्ला कार्यसमितिको निर्णयसँगै उम्मेदवार छनौटको काम तीब्र रुपमा अघि बढाइएको नेपाली कांग्रेस गोरखाका सचिव किशोरजंग थापाले जानकारी दिनुएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.